| आइतवार, साउन २३, २०८३

सकियो एसईई, धार्चेबाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण जारी

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएको छ । बिहिबार सकिएको परीक्षाको उत्तरपुस्तिका जिल्लामै परीक्षण भइरहेको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । ‘यसअघि यहाँको उत्तरपुस्तिका अन्य जिल्ला जान्थ्यो, अन्तको यहाँ आउथ्यो,’ निमित्त इकाइ प्रमुख विश्व रेग्मीले भने, ‘तर यो बर्षबाट सम्बन्धित परीक्षा केन्द्रहरुमै परीक्षण भइरहेको छ ।’ एक महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यका साथ सरकारले सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

परीक्षाका लागि यो बर्ष जिल्लामा २३ वटा परीक्षा केन्द्र तोकिएको थियो । सबैभन्दा बढी गोरखा नगरपालिकामा ६ वटा केन्द्र छन् । भीमसेन थापा गाउँपालिकामा ३, पालुङटार नगरपालिका, आरुघाट, शहिदलखन, बारपाक सुलिकोट, सिरानचोक र गण्डकी गाउँपालिकामा २/२ वटा केन्द्र रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धार्चे र अजिरकोटमा १/१ वटा केन्द्र छन् भने चुमनुव्रीमा केन्द्र तोकिएको थिएन ।

परीक्षा सुरु भएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण थालिएको निमित्त इकाइ प्रमुख रेग्मीले बताए । ‘कपितय बिषयका उत्तरपुस्तिका परीक्षण भएर आइसकेका छन्,’ उनले भने, ‘प्राप्त अंकहरु हामीले परीक्षा नियन्त्रण कार्यालय सानोठिमी पठाइसकेका छौ ।’ उत्तरपुस्तिका परीक्षणका लागि एउटा परिक्षा केन्द्रमा बिषयपिच्छे दुई जनाका दरले शिक्षक खटाइएको छ । खटिएका शिक्षकहरु सम्बन्धित पालिकाका नभई फरक पालिकाका छन् । परीक्षा केन्द्रकै शिक्षकहरुले परीक्षण गर्न नपाउने बताउँदै रेग्मीले भने, ‘आफू कार्यरत पालिकाभन्दा फरक पालिकामा पर्ने गरी शिक्षकहरुलाई परीक्षण गर्न पठाएका छौ ।’

शिक्षक अभावका कारण धार्चे गाउँपालिकाको केन्द्रमा भने उत्तरपुस्तिका परीक्षण सुरु हुन सकेको छैन । कम्तिमा स्नातक तह उतिर्ण गरेका मावि तहका शिक्षक वा तल्लो तहको स्थायी दरवन्दी भएर माविमा पढाइरहेका शिक्षकले मात्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्न पाउने प्रावधान छ । धार्चेमा सो योग्यता पुग्ने शिक्षकको जनशक्ति नभएको र जिल्लाबाट पठाउनुपर्ने भएकाले परीक्षणको काम अघि नबढेको रेग्मीले जानकारी दिए ।

‘अव तलतिरको लगभग सकियो, भोली यहाँबाट शिक्षकहरु गएर परीक्षणको काम सुरु गर्नुहुन्छ,’ उनले भने । करिव दुई दिनमा उक्त केन्द्रको परीक्षण सकिने उनले जिकिर गरे । उनका अनुसार बैशाख पहिलो साता जिल्लाको सबै उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसक्ने छ । यो बर्ष जिल्लाबाट ३ हजार ७९७ जनाले एसईई परीक्षा दिएका छन् ।

उत्तरपुस्तिका परीक्षण वापत शिक्षकहरुले प्रति पुस्तिका २४ रुपैया पाउने गरेका छन् । पारिश्रमिक पढाउन अर्थ मन्त्रालयमा पेश भएपनि निर्णय प्राप्त नभएको इकाइ गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्