| मङ्लबार, बैशाख १, २०८३

चट्टानसहितको पहिरोका कारण बेनिघाट आरुघाट लार्के सडक अवरुद्ध

चट्टानसहितको पहिरोका कारण बेनिघाट आरुघाट लार्के सडक अवरुद्ध बनेको छ । धार्चे गाउँपालिका–३ दोभान नजिकैको कालाभिरमा माथिबाट चट्टानसहितको सुख्खा पहिरो खसेपछि मंगलवार बिहानदेखि सडक अवरुद्ध बनेको हो ।

‘हिजो पनि माथिबाट ढुंगा खसेर केहीवेर सडक रोकिएको थियो, जेसिभि लगाएर हटायौ,’ पालिका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘बिहान सडकको वेश नै जाने गरी माथिबाट चट्टानसहितको ठुलै पहिरो खसेछ ।’ सो ठाउँमा ब्लास्ट गरेर पुनः नयाँ वेश निर्माण गर्नुपर्ने देखिएको उनले जिकिर गरे ।

नेपाली सेनाले स्थलगत अध्ययनका लागि सडक निर्माण कार्यदलको प्राविधिकलाई पठाएको छ । ‘निर्माण कार्यदलका प्राविधिक पठाएका छौ,’ रुद्रध्वज गणका गणपति बिरोध रिजालले भने, ‘उहाँहरु पुगेर प्रतिवेदन दिएपछि सडकको अवस्थाबारे एकीन हुन्छ ।’ सडक अवरुद्ध बनेसँगै अहिले सो क्षेत्रमा सवारी आउजाउ ठप्प छ । सामान ढुवानीमा समेत समस्या भएको स्थानीयले बताएका छन् । पदयात्रीलाई सडक पारी रहेको पदमार्ग प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ । अहिले सो क्षेत्र हुदैँ मनास्लु जाने पर्यटकहरुको चाप बढी छ ।
उत्तरी गोरखा हुदैँ चीनको सिमा जोड्ने उक्त सडक निर्माणको काम विगत सात बर्षदेखि जारी छ । बेनिघाटदेखि चीनको सिमा लार्के भन्ज्याङसम्मको कुल १५४ किलोमिटरमध्ये ९७ किमी खण्डमा सडक ट्रयाक खुलेर सवारी चल्न थालिसकेको छ ।
बेनिघाटदेखि हावाडाँडाको ६२ किलोमिटर खण्ड सडक बिभागले निर्माण गरेपनि हावाडाँडादेखि लार्केभन्ज्याङसम्मको ९२ किमी खण्ड भने बिभागले नेपाली सेनालाई जिम्मा लगाएको हो ।

त्यसमध्ये नेपाली सेनाले हालसम्म ३५ किमी ट्रयाक खनिसकेको छ । हावाडाँडादेखि चुमनुव्री गाउँपालिकाको पाङसिङसम्म सवारी संचालनमा हुन थालिसक्यो । हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक बिभागलाई हस्तान्तरण समेत गरिसकेको छ । अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । सो क्षेत्रमा चार खण्डमा बिभाजन गरी काम भएको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । कार्यदलका अनुसार पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिरमा ब्लाष्टिङ गरेर ट्रयाक निर्माण गरिएको हो ।

२०५२ सालमा बेनिघाट आरुघाट आर्खेत खण्डमा सडक निर्माणको काम सुरुवात भएको थियो । आर्थिक बर्ष २०६३/६४ मा वेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक बिभागलाई उक्त सडक निर्माणको कार्यभार दिइयो । आव २०६६÷६७ मा मात्र उक्त सडक निर्माणको कार्य सुरु भयो । तर हावाडाँडादेखि करिव १ किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर परेकाले पाँच बर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडी बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्