
बिचौलिया खोज्दै प्रशासन
जिल्लामा सार्वजनिक सेवाका बिचौलियाहरुको खोजी कार्य तिव्र पारिएको छ । फास्ट ट्रयाकमा काम गरिदिने वहानामा सेवाग्राहीसँग रकम असुल गर्नेहरुको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘छिटो काम गरिदिने भन्दै रकम लिएर सेवाग्राहीलाई अनावश्यक रुपमा दुःख हैरानी दिने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावित पार्नेहरुको हामीले खोजी गरिरहेका छौ,’ प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भने, ‘त्यस्ता बिचौलियाहरु भेटिएमा कारवाही गर्छाै ।’ सबै सरकारी कार्यालयमा यसबारे सचेत समेत गराइएको उनले जानकारी दिए ।
बिशेष गरी मालपोत, नापी लगायतका कार्यालयमा बिचौलिया हावी हुन सक्ने अनुमान गरिएको छ । निगरानीका लागि सादा पोशाकमा प्रहरी परिचालन समेत गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताए । ‘कुनै पनि सेवाग्राहीलाई सास्ती दिने, कामको वहानामा बढी पैसा असुल गर्ने गरेको पाइएमा पक्राउ गर्छाै,’ उनले भने, ‘सरकारी अड्डाहरुमा निगरानी समेत बढाइसकेका छौ ।’
बिचौलिया फेला पारेमा प्रहरीलाई खवर गर्न एसपी बिकले अनुरोध समेत गरेका छन् । नयाँ सरकार गठन भएसँगै बिभिन्न क्षेत्रमा बिचौलिया काम गर्नेहरु धमाधम पक्राउ परेका छन् । सरकारी कार्यालयबाट बिचौलिया खाली गराउने अभियानमा आफूहरु पनि लागि परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




