| मङ्लबार, बैशाख १, २०८३

धार्चेमा धमाधम बेलिब्रिज बन्दै

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा धमाधम बेलिब्रिज निर्माण हुन थालेको छ । हालसम्म दुई वटा बेलिब्रिज निर्माण भइसकेको छ भने एउटा निर्माणाधिन अवस्थामा छ । थप दुई बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

उनका अनुसार यसअघि खोर्लावेशी र माछीखोलामा बेलिब्रिज निर्माण भइसकेको छ । ‘खोर्लावेशीमा बनेको बेलिब्रिज टाइम्स इनर्जी हाइड्रोपावर कम्पनीले बनाएको हो,’ उनले भने, ‘ब्रिज ३७ मिटर लम्वाई र ४ मिटर चौडाइको छ ।’ त्यस्तै माछीखोलामा निर्माण भएको पुलको लम्वाई १ सय २० फिट रहेको उनले जानकारी दिए । बेनिघाट आरुघाट लार्के सडक अन्तरगत पर्ने उक्त पुल नेपाली सेनाले दुई बर्ष अघि बनाएको हो । पुलको कुल लागत दुई करोड रहेको छ ।

हाल उहियाको खोत्राङ र हुल्चुक जोड्ने गरी बेलिब्रिज निर्माणको काम भइरहेको पालिकाले जनाएको छ । दोभान खोला हाइड्रोपावर कम्पनी लिमिटेडले उक्त पुल निर्माण गरिरहेको पालिका अध्यक्ष गुरुङले बताए । उनका अनुसार पालिकास्थित बुढीगण्डकी नदीमाथि बन्न लागेको यो पहिलो बेलिब्रिज हो । ४२.३ मिटर लम्बाई रहेको उक्त पुलको चौडाई भने ३.७८ मि रहने बेलिब्रिज दोभान खोला हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष बिरबहादुर घलेले बताए । फागुनबाट काम सुरु गरिएको सो पुल जेठ १५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

‘दोभान साइटमा चट्टान कटिङको काम सकेर उहियाँतर्फ जग खन्ने काम सुरु भएको छ,’ उनले भने । पुल निर्माणका लागि आवश्यक सामग्री रक्सोल भन्सारमा आइपुगेको उनले बताए । करिब ६ करोड ७५ लाख लागतमा बन्न लागेको उक्त पुलको हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । उक्त बेलिब्रिजको क्षमता ४० टन रहने छ । उक्त पुल बनेपछि हुल्चुक, हुम्चेत, सल्लाघारी लगायतका स्थानीयसँगै अन्यलाई पनि आउजाउमा सहज हुने अपेक्षा गरिएको छ ।

सो क्षेत्रमा हाल झोलुङ्गे पुल रहेको छ । मोटरसाइकल जसोतसो आउजाउ गरेपनि चार पाङ्ग्रे सवारी संचालन हुन सकेको छैन । पुल निर्माण भएसँगै चार पाङ्ग्रै सवारी पनि सहजै आउजाउ हुन सक्ने र सामान ढुवानीमा समेत सहज हुने स्थानीयको अपेक्षा छ । बुढीगण्डकी नदीमाथी थप अर्काे बेलिब्रिज निर्माणका लागि प्रस्ताव गरिएको पालिकाले जनाएको छ । तस्बिर राज गोर्खाली

प्रतिक्रिया दिनुहोस्