| मङ्लबार, बैशाख १, २०८३

गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडक धमाधम कालोपत्रे हुँदै

गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडक कालोपत्रेको काम सुरु भएको छ । प्रिमिक्स कार्पेट प्रविधिबाट धमाधम कालोपत्रे भइरहेको पालिकाले जनाएको छ । ‘वेश ओछ्याउने काम सकियो,’ पालिकाका सव इन्जिनियर ओमप्रकाश साहले भने, ‘प्राइम कोटसँगै कालोपत्रेको काम भइरहेको छ ।’ प्राइम कोटको काम ५० प्रतिशत र ३० प्रतिशत कालोपत्रेको काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

उनका अनुसार १.७ किलोमिटर उक्त सडकखण्ड कालोपत्रेका लागि महादेव भैरवी कन्स्ट्रक्सन र धादिङ निलकण्ठ निर्माण सेवा जेभी बीच २०८२ मंसिर १२ गते सम्झौता भएको हो । सम्झौता अनुसार २०८३ जेठ मसान्तभित्र काम सक्नुपर्ने छ । हालसम्म कामको भौतिक प्रगति ८० प्रतिशत रहेको साहले बताए । ‘यही गतिमा काम भयो भने समय अगावै काम सकिन्छ,’ उनले भने ।

उक्त योजनाका कुल लागत अनुमान २ करोड ३४ लाख रहेको छ । यो बर्ष १ करोड ७४ लाख विनियोजन भएको सव इन्जिनियर साहले जानकारी दिए । संघीय समपुरक अन्तरगतको उक्त योजनामा पालिका र संघको ५०/५० प्रतिशत लागत सहभागीता रहेको छ ।

फिस्लिङबाट पालिकाको प्रशासनिक कार्यालय जोड्ने सडक अन्तरगत कुलवेशीसम्म कालोपत्रे भइसकेको छ । हाल कुलवेशी दलभन्ज्याङ हुदैं कौदीसम्मको सडक कालोपत्रे हुदै छ । कौदीबाट रानीस्वाँरा हुदै फुजेल जोड्ने सडक पनि कालोपत्रेको काम क्रमश अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्