| शनिबार, बैशाख १८, २०८३

आरुघाटमा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरमा ५३९ जनाले सेवा लिए

आरुघाट गाउँपािलका–६ स्थित अलैछे मा.विमा बृहत् एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरुघाट गाँउपालिका, प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा, प्रदेश अस्पताल गोरखा, आँपपिपल अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा र प्रदेश आयुर्वेद केन्द्र गोरखाको संयुक्त आयोजनामा भएको दुई दिने शिविरमा ५३९ जनाले सेवा लिएका छन् ।

शिविरको पहिलो दिन रक्त नमूना संकलन, एआई एक्सरेद्वारा क्षयरोग परीक्षण, श्वासप्रश्वास समस्याको परीक्षण, आँखा परीक्षण, पाठेघर परीक्षण, दाँत परीक्षण, छाला तथा कुष्ठ रोग परीक्षण, मनोसामाजिक परामर्श, शरिरको उचाइ र तौल परीक्षण गरि बिएमआई निकालिएको थियो । यस्तै दोस्रो दिन रक्त परीक्षण, रिपोर्ट वितरण, डाक्टरद्धारा परामर्श, मनोसामाजिक परामर्श तथा योग, ध्यान, मेडिटेशन, जीवन शैली, आहार–विहार परामर्श दिएको आयोजकले जनाएको छ ।

शिविरमा ५२७ जनाको रक्त नमुना सङ्कलन, ४७९ जनाको आर्टिफियल ईन्टेलिजेन्स प्रविधीबाट छात्ति रोग खोजपड्ताल तथा क्षयरोग शङ्कास्पद खकारको नमुना सङ्कलन गरि १२ जनाको उच्च स्तरिय प्रयोगशालामा पठाएको छ । थप पाँच जनामा क्षयरोग पत्ता लगाई उपचार सुरु गरिएको आयोजकले बताएको छ । यसैगरि शिविरमा ५३ जनाले दन्त सेवा, १७० जनाले आँखासम्बन्धी सेवा लिएकोमा १२ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

आयोजकका अनुसार शिविरमा १०८ जना पाठेघरको मुखको क्यान्सर परिक्षण र १९४ जनाको छाला तथा कुष्ठ रोग परिक्षण गरिएको छ । मनोसामाजिक परामर्श सेवा लिएका ४२० जनामध्ये २६ जनामा परामर्श गर्नुपर्ने भेटिएको साथै आत्महत्या सोचाई आएका १० जनालाई पनि परामर्श गराएको जनाएको छ । शिविर चैत्र २० र २१ गते दुई दिनसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्