| मङ्लबार, बैशाख १, २०८३

ठेकेदारको लापरवाहीले नारेश्वर–निबेल–ताकुकोट सडक पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरवाहीका कारण नारेश्वर–निबेल–ताकुकोट सडक विगत पाँच वर्षदेखि अलपत्र छ । २०७८ को असारमा ठेक्का सम्झौता भएर काम सुरु भएपनि हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र रहेको पूर्वधार विकास कार्यालयले जनाएको छ ।
मकवानपुरको अमर ज्ञानेस जेभीले निर्माण ठेक्का लिएको उक्त सडकको हालसम्मको बित्तिय प्रगति भने २५ प्रतिशत रहेको कार्यालयका इन्जिनियर अमरदीप चौधरीले बताए ।

उनका अनुसार २३ करोड ७५ लाखमा ठेक्का सम्झौता भएको उक्तm योजना अन्तरगतको सडकखण्डको लम्बाई १० किलोमिटर रहेको छ । हालसम्म स्ट्रक्चरल कामहरु मात्र भएको इन्जिनियर चौधरी बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म मेसिनरी वाल निर्माण र ग्राभेलको काम मात्र भएको छ, ठेकेदार कम्पनीले आगामी असारसम्ममा कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ ।’ ठेक्काको दोस्रो पटक म्याद थप भएर आगामी असार मसान्त सम्ममा पु¥याइएको उनको भनाई छ ।

ज्ञानेस निर्माण सेवाले नै जिम्मा लिएको पालिकाको मुख्य सडक चनौटे–तामालाबोट–पाल्खु खण्डको काम पनि अलपत्र बनेको छ । २०८१ असारमा ठेक्का सम्झैता भएको उक्त तीन किलोमिटर सडक कालोपत्रेको म्याद आगामी असारसम्मको छ ।
तर, हालसम्मको भौतिक प्रगति जम्मा २८ प्रतिशत रहेको पूर्वधार विकास कार्यालय गोरखाले जनाएको छ । १० करोड रुपैँयामा ठेक्का सम्झैँता भएको उक्त सडकखण्डमा हालसम्म ग्याभिङ तथा मेसिनरी वाल निर्माणको काम मात्र भएको कार्यालयको भनाई छ ।

आफूहरुले ठेकेदार कम्पनीलाई काम सुरु गर्न पटक पटक ताकेता गर्दै आएको पूर्वधार कार्यालकी निमित्त कार्यालय प्रमुख शर्मिला थापाले बताइन् । ‘ठेकेदारले २–३ दिनमा काम सुरु गर्छौँ भन्छ तर गर्दैन’, उनले भनिन् । समयमा सडक कालोपत्रे नहुँदा पालिकाबासीले निकै सास्ती खेप्नु परेको बारपाकसुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।

सडक कालोपत्रे नहुँदा बर्खाको बेला सडक भत्किएर गाउँबस्ती नै जोखिममा परेको उनको गुनासो छ । ‘सडक निर्माणको जिम्मा पूर्वधार कार्यालयलको हो तर पालिकाबासीले त हामी स्थानीय सरकारलाई नै सडक नबनाएको भनेर दोष लाउने भयो नि’, उनले भने, ‘अर्कोतिर ठेकेदारले ठाउँ ठाउँमा सडक खनेर अलपत्र परेपछि यहाँको गाउँबस्ती नै जोखिममा परेको छ ।’ प्रशासनले ठेकेदार कम्पनीलाई झिकाएर छिटो भन्दा छिटो सडक कालोपत्रे गर्नुपर्ने माग उनको छ ।

प्रतिक्रिया दिनुहोस्