
पाँच बुँदे घोषणापत्र जारी गर्दै तेस्रो न्यायिक भेला सम्पन्न
पाँच बुदे भीमसेन थापा घोषणापत्र जारी गर्दै जिल्ला स्तरीय तेस्रो न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीवार भीमसेन थापा गाउँपालिकामा भएको भेलाले न्यायिक सहजकर्ताको जनशक्ति मागका लागि पहल गर्ने भएको छ । न्यायिक सहजकर्ता नभएको पालिकामा जनशक्ति मागका लागि प्रदेश सरकारलाई पत्राचार गर्ने निर्णय भएको भीमसेन थापा गाउँपालिका उपाध्यक्ष एवं पालिकाकी न्यायिक समिति संयोजक अमृतादेवी भट्ट वस्तीले बताइन् ।
भेलाले न्यायलाई छिटो, छरितो र सरलसँगै प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता समेत गरेको छ । जिल्लामा भएका असल अभ्यासहरुलाई प्रदेश स्तरीय भेलामा आदानप्रदान गर्ने र गोरखाबाट सुरु गरिएको प्रदेश भेलालाई पनि निरन्तरता दिने भेलाले निर्णय गरेको छ । गत मंसिर २२ गते जारी भएको स्थानीय न्यायिक समितिमा विवाद व्यवस्थापन कार्यविधि दिग्दर्शनको पूर्ण पालना गर्ने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
अबको चौथो भेला आउँदो जेठ महिनामा धार्चे गाउँपालिकामा गर्ने निर्णय समेत भएको छ । गोरखा नगरपालिकाको न्यायिक समितिको आयोजनामा पहिलो भेला भएको थियो । दोस्रो भेला चुमनुव्री गाउँपालिकाको न्यायिक समितिले ग¥यो । भीमसेन थापामा भएको यो तेस्रो भेला हो । भीमसेन थापा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा बिहीवार पालिकाको प्रशासनिक भवनमा कार्यक्रम भएको हो ।
समिति संयोजक वस्तीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश बिष्णुप्रसाद गौतम, जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थी, अधिवक्ता स्थानेश्वर दवाडी लगायतले न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका न्यायिक सहजकर्ताहरुको आ–आफ्नो पालिकाको अर्धवार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, भीमसेन थापा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, गाउँपालिका न्यायिक समिति सदस्य होमबहादुर बराम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




