| मङ्लबार, बैशाख १, २०८३

आजबाट एसईई सुरु, ३ हजार बढी बिद्यार्थी सहभागी हुदैँ

परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण हुने
आजबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुदैछ । परीक्षामा जिल्लाबाट ३ हजार ७ सय ९७ जना विद्यार्थी सहभागी हुदै छन् । जिल्लाभर २३ वटा परीक्षा केन्द्रहरु तोकिएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ ।

सबैभन्दा बढी गोरखा नगरपालिकामा ६ वटा र सबैभन्दा कम धार्चे र अजिरकोट गाउँपालिकामा एउटा/एउटा परीक्षा केन्द्र तोकिएको कार्यालयका निमित्त प्रमुख विश्व प्रकाश अर्यालले बताए । ‘भीमसेन थापा गाउँपालिकामा तीन वटा केन्द्र छन्,’ उनले भने, ‘पालुङटार नगरपालिका, आरुघाट, शहिदलखन, बारपाक सुलिकोट, सिरानचोक र गण्डकी गाउँपालिकामा दुई.दुई वटा केन्द्र तोकिएका छन् ।’

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने परीक्षा केन्द्र नरहेको उनले जानकारी दिए । उनका अनुसार यस वर्षदेखि एसईईको उत्तरपुस्तिका सम्बन्धीत परीक्षा केन्द्रमा नै परीक्षण हुने छ । एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने सरकारको योजना अनुसार परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्न लागिएको उनले बताए ।

‘आजसम्म कुनै आधिकारीक जानकारी नआएपनि राष्ट्रिय परीक्षा बोर्डबाट जिल्लाभित्रै उत्तरपुस्तिक जाँच गर्न मौखिक रुपमा निर्देशन आएको छ’, उनले भने । परीक्षा केन्द्रमा पर्याप्त जनशक्ति नभए आसपासका बिद्यालयका शिक्षकहरुलाई उत्तर पुस्तिका जाँचको जिम्मेवारी दिन सकिने उनको भनाइ छ । आजबाट सुरु हुने परीक्षा यही चैत २९ गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्