
लागूऔषध प्रयोगको सम्भावित स्थानहरुको पहिचान गरी निगरानी बढाइने
जिल्लामा लागूऔषध प्रयोग हुन सक्ने सम्भावित स्थानहरुको पहिचान गरी निगरानी बढाइने भएको छ । लागूऔषध प्रयोग नियन्त्रणका लागि वुधवार बसेको जिल्लाका सरोकारवालाहरुको समन्वय बैठकले उक्त निर्णय गरेको हो । निगरानी बढाउन प्रहरीलाई प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले निर्देशन समेत दिएका छन् ।
लागूऔषधको रुपमा प्रयोग हुने औषधी तथा सिरिन्ज चिकित्सकको सिफारिस बिना बिक्री वितरणमा रोक लगाउने निर्णय समेत बैठकले गरेको छ । अनुगमनका लागि प्रदेश जनस्वास्थ्य कार्यालयलाई जिम्मेवारी दिइएको छ । लागूऔषध सम्बन्धी युवा लक्षित विभिन्न सचेतनामूलक एवं प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गरिने भएको छ ।
आफ्नो पालिकाभित्रका बिद्यालयहरु सचेतना कार्यक्रम संचालन गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको प्रजिअ श्रेष्ठले बताए । बैठकमा प्रहरी निरीक्षक आकास कडेलले लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारसम्बन्धी प्रस्तुती गरेका थिए ।
प्रजिअ श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मोहनथापा मगर, उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकर, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।




