| आइतवार, जेष्ठ १६, २०८३

ओली रिहाईको माग गर्दै एमालेको बिरोधपत्र

पार्टीका अध्यक्ष केपी शर्मा ओली रिहाईको माग गर्दै एमाले गोरखाले प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाएको छ । आइतवार प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाएका हुन् । शनिबार बसेको एमालेको सचिवालय बैठकको ७७ वटै जिल्लामा विरोध पत्र बुझाउने निर्णय गरेअनुसार जिल्लामा पनि विरोध पत्र बुझाइएको एमाले गोरखाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

‘पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई चैत १४ गते सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्राही र गैरकानुनी गिरफ्तारीको निन्दा, भत्सर्ना र बिरोध गर्दछौँ’, बिरोधपत्रमा भनिएको छ, ‘उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मबिपरीत ठहरसहित उहाँहरुलाई तत्कार रिहाईको माग गर्दछौँ ।’

कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको एमाले गोरखाको ठहर छ । जेन जी अन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका वाहालवाला न्यायधिशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्न उनीहरुले माग गरेका छन् । बिरोधपत्र बुझाउनुअघि उनीहरुले प्रशासन कार्यालयअघि केहीबेर नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्