| सोमवार, कार्तिक २३, २०८३

लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

जिल्लाको पालुङटार नगरपालिकाले संचालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाको अधिकांश किसानहरु आबद्ध रहेको त्यहाँका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले बताए ।

उनका अनुसार कार्यक्रम अन्तरगत पालिकाले कृषक/कृषि समूह/कृषि सहकारीहरुलाई सतप्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने छ । खाद्यन्न, रैथाने र मसला बालीको बीउ उपलब्ध गराइएको उनले जानकारी दिए । ‘खाद्यन्न अन्तरगत धान र मकै, रैथाने बालीअन्तरगत कोदो, फापर, मास र कागुनो तथा मसला बाली अन्तरगत अधुवा र हलेदोको बिउ उपलब्ध हुन्छ’, उनले भने । कार्यक्रममा कृषकहरु आकर्षित बन्दै गएको उनले बताए ।

पालिकाले उपलब्ध गराएको बिउबाट किसानहरुले बीउ उत्पादन गर्नुपर्ने प्रावधान रहेको उनी बताउँछन् । ‘निश्चित समयपछि किसानहरुले पालिकाले अनुदानमा उपलब्ध गराएको बीउ पालिकामै फिर्ता गर्नुपर्ने हुन्छ’, उनले भने, ‘किसानहरुले पालिकाले जति मात्रामा बीउ उपलब्ध गराएको थियो, त्यति पालिकालाई फिर्ता गरेर बाँकी आफू खुसी बेच्न सक्नुहुन्छ ।’ यसरी किसानहरुले फिर्ता गरेको बीउ पुनः अन्य किसानहरुलाई उपलब्ध गराएर बिउ पैचो कार्यक्रम संचालन गर्ने बिसीले बताएका छन् ।

‘सुरुको वर्षमा किसानहरुलाई आवश्यक पर्ने बीउ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । बिस्तारै यही उत्पादन बढ्न थालेपछि किसानहरु बीच बिउ पैचोको अभ्यास सुरु हुन्छ’, उनले भने । पालुङटारले किसानसँग बीउ पैचो कार्यक्रमका लागी चालु आर्थिक वर्ष २०८२/०८३ मा दुईलाख रुपैँया बिनियोजन गरेको छ । पालिकाले हाल कार्यक्रम जारी गरेर इच्छुक किसानहरुलाई कार्यक्रममा आबद्ध हुन सूचना प्रकाशन गरिसकेको छ ।

गत वर्ष कार्यक्रममा आबद्ध भएका केही किसानहरुले बिउ समेत फिर्ता गरिसकेको अवस्था रहेको पालिकाको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले बताएका छन् । कार्यक्रम किसानहरुको मागमा आधारित हुन्छ । विषेश गरी पालिकाको रैथाने बाली प्रवद्र्धन गर्न, कृषकहरुको जीविकोपार्जनमा सहयोग पु¥याउन र पालिकालाई बिउमा आत्मनिर्भर बनाउन ‘किसानसँग बीउ पैचो’ कार्यक्रम संचालन गरिएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्