| सोमवार, कार्तिक २३, २०८३

सार्वजनिक यातायातमा वन डँढेलो सचेतना

वन डँढेलो सप्ताह–२०८२ अन्तरगत जिल्लाका सार्वजनिक यातायातहरुमा डढेलो सचेतना सम्बन्धी सन्देश राखिएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा ट्राफिक कार्यालय गोरखा र यातायात व्यवसायी संघको समन्वयमा सार्वजनिक यातायातमा डढेलो सचेतना सन्देश राखिएको वन अधिकृत अर्जुन अछामीले बताए ।

वन कार्यालयले ‘वनलाई डढेलोबाट जोगाऔँ’, ‘पर्यावरणको संरक्षण गरौँ’ लगायतका डढेलो सम्बन्धी सचेतनामूलक सन्देश भएका स्टिकर सार्वजनिक यातायातहरुमा राखेको उनले जानकारी दिए । वन डढेला सम्बन्धी सन्देश गाउँगाउँमा पु¥याउने उदेश्यका साथ जिल्लामा संचालनमा रहेका सवारी साधनहरुमा स्टिकर राखिएको उनी बताउँछन् ।

‘चैतको पहिलो हप्तालाई वन डढेलो सप्ताहको रुपमा मनाइन्छ, विविध कारणबस सप्ताहमा यो कार्यक्रम गर्न पाएका थिएनौँ । त्यसैले आज गरेका हौँ’, अछामीले भने । कार्यालयले मंगलबार सदरमुकामको पुरानो बसपार्क र घ्याम्पेसाल बसपार्क क्षेत्रमा डढेलो सम्बन्धी सचेतनामूलक स्टिकरहरु वितरण गरेको थियो । अछामीका अनुसार काठमाडौँ, चितवन पोखरा लगायत लामो दुरी र जिल्ला भित्रै संचालन हुने छोटो दुरीका करिब ३० वटा सवारी साधनहरुमा स्टिकर राखिएको थियो । अन्य बजारी क्षेत्रहरुमा पनि स्टिकर वितरण गर्ने योजना रहेको उनको भनाई छ ।

डिभिजन वन कार्यालय गोरखाले डढेलो सम्बन्धी सचेतनामूलक प्रचारप्रसारका कार्यक्रमहरु आयोजना गरेर ‘वन डढेलो सप्ताह–२०८२’ मनाएको थियो । यस्तै, सामुदायिक वनहरुसँग अन्तरक्रिया गरेर, डढेलो नियन्त्रणका अभ्यासहरु संचालन गरेर र विभिन्न जनचेतानामूलक कार्यक्रमहरु संचालन गरेर डढेलो सप्ताह मनाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्