| शुक्रबार, अशोज ८, २०८३

यस वर्ष जिल्लाबाट ३७ सय विद्यार्थीहरुले एसईई दिँदै


शारदा माविको परीक्षार्थी शून्य
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा गोरखाबाट तीनहजार सात सय ९७ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार यस वर्षको एसईईमा जिल्लाबाट नियमिततर्फ २९ सय ७२ जना विद्यार्थीहरु सहभागी हुने छन् ।

ग्रेडबृद्धितर्फको परीक्षामा भने आठ सय २५ जना विद्यार्थीहरु सहभागी हुने निमित्त इकाई प्रमुख विश्वप्रकास रेग्मीले बताए । यही चैत १९ गतेबाट २९ गतेसम्म संचालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भैसकेको रेग्मीले जानकारी दिए ।

उनले भने, ‘विद्यार्थीहरुको प्रवेशपत्र विद्यालयहरुमा पठाइसकेका छौँ । राष्ट्रिय परिक्षा बोर्डको तर्फबाट जिल्लामा आउनुपर्ने सम्पूर्ण आवश्यक परीक्षा सामाग्रीहरु पनि आइसकेको अवस्था छ । यही हप्ताभित्र परीक्षा केन्द्राध्यक्ष नियुक्त गरि अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने तयारीमा छौँ ।’

रेग्मीका अनुसार यस वर्ष जिल्लाबाट प्राविधिकतर्फ ८२ जना विद्यार्थीहरुले परीक्षा दिने छन् । गण्डकी गाउँपालिकाको घ्याच्चोक स्थित ज्ञानमार्ग मावि, भिमसेनथापाको नवजागृती चण्डी मावि, पालुङटारको त्रिवेणी मावि सेरा र आरुघाटको भवानी मावि मान्बुमा प्राविधिक धारको पढाई हुने गरेको छ ।

एसईई परीक्षामा जिल्लाभरका १३५ वटा विद्यालयहरुले सहभागिता जनाउने छन् । एसईईमा गोरखा नगरपालिकाबाट मात्र २६ वटा विद्यालय सहभागी हुँदै छन् भने सबैभन्दा थोरै उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाबाट दुईवटा विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् । चुमनुब्रीको बुद्ध मावि फिलिम र ल्हो मावि, ल्होले एसईईमा सहभागीता जनाउनेछ ।

यस वर्ष पालुङटारको शारदा माविले एसईई परीक्षामा सहभागिता नजनाउने शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विश्वप्रकाश रेग्मी बताउँछन् । विद्यालयमा एसईई दिने विद्यार्थी नै नभएपछि उक्त विद्यालयले सहभागीता नजनाएको उनले जानकारी दिए ।

यसवर्ष खुल्ला विद्यालय अन्तरगत जिल्लाबाट १३ जना विद्यार्थीहरुले एसईई दिँदै छन् । उनीहरु मध्ये १० जना नियमिततर्फका र बाँकी ३ जना ग्रेडबृद्धितर्फका छन् ।

जिल्ला शिक्षा कार्यालयले एसईई परीक्षा संचालनका लागि जिल्लाभर २३ वटा परीक्षा केन्द्रहरु तोकेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने परीक्षा केन्द्र तोकिएको छैन् । विकट मानिने धार्चे गाउँपालिकामा १ र आरुघाट गाउँपालिकामा २ वटा परीक्षा केन्द्रहरु छन् । जिल्लाको सहिदलखन, बारपाक सुलिकोट, सिरानचोक र गण्डकी गाउँपालिकामा पनि २÷२ वटा परीक्षा केन्द्रहरु कायम भएका छन् ।

भिमसेनथापा गाउँपालिकामा भने ३ वटा परीक्षा केन्द्र कायम भएका छन् भने अजिरकोट गाउँपालिकामा एउटा मात्र परीक्षा केन्द्र छ । पालुङटार नगरपालिकामा भने दुईवटा परीक्षा केन्द्र कायम भएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ । जिल्ला सदरमुकाम समेत रहेको गोरखा नगरपालिकामा भने ६ वटा परीक्षा केन्द्रहरु कायम भएको कार्यालयको भनाई छ ।

गत वर्ष २०८१ को एसईईमा चारहजार चारसय ८० जनाले सहभागिता जनाएको गोरखामा यसवर्ष विद्यार्थी सङख्या केही घटेको छ । विद्यार्थी सङ्ख्या घट्दै गएको भन्दै शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले भने, ‘गत वर्ष जिल्लाको एसईई परीक्षा नतिजा राम्रो थिएन । त्यसैले कमजोर विद्यार्थीहरुलाई पुनः ९ कक्षामा दोहो¥याएको कारण यस वर्ष एसईई दिनेको सङख्या तुलनात्मक रुपमा कम देखिएको हो । आगामी वर्ष एसईई दिने विद्यार्थीको सङख्या पुनः बृद्धि हुने हाम्रो तथ्याङकले देखाएको छ ।’

प्रतिक्रिया दिनुहोस्