
सौरपानीका ठाकुर ढकाललाई दक्षिण कोरियामा साढे २ करोडको अनुसन्धान अनुदान
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी स्थायी घर भई हाल दक्षिण कोरिया बस्दै आएका ठाकुर ढकालले झण्डै साढे २ करोड रुपैयाँ बराबरको अनुसन्धान अनुदान प्राप्त गरेका छन् । वैज्ञानिक प्राध्यापक समेत रहेका ढकाललाई दक्षिण कोरियाली सरकारले उक्त अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्रदान गरेको हो ।
जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र इको–रीजियमसम्बन्धी अध्ययनका लागि दक्षिण कोरियाको नेशनल रिसर्च फाउन्डेशन (एनआरएफ)ले उनलाई सन् २०२६–२०२९ अवधिका लागि तीन वर्षे परियोजनामा आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । उक्त परियोजनाको कुल बजेट करिब २ करोड ४० लाख नेपाली रुपैयाँ बराबर रहेको छ ।
यो परियोजना दक्षिण कोरियाको योङ्नाम विश्वविद्यालय अनुसन्धान प्रतिष्ठान अन्तर्गत सञ्चालन हुनेछ । प्राध्यापक ढकालले परियोजनामा प्रमुख अनुसन्धानकर्ताका रूपमा नेतृत्व गर्नेछन् । परियोजना २०२६ मार्च १ देखि २०२९ फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियामार्फत यस्तो ठूलो अनुदान प्राप्त गर्नु नेपाली वैज्ञानिकका लागि महत्वपूर्ण उपलब्धी मानिएको छ । विशेषगरी जलवायु परिवर्तनजस्तो विश्वव्यापी चुनौतीसँग सम्बन्धित क्षेत्रमा अनुसन्धान गर्न अनुदान प्राप्त हुनु अझ अर्थपूर्ण ठानिएको छ ।




