
छेपेटारको जेष्ठ नागरिक आवास भवन संचालनको तयारी
गोरखा नगरपालिका–१० छेपेटारस्थित जेष्ठ नागरिक आवास भवन संचालनमा ल्याउने तयारी गरिएको छ । गत वुधवार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले उक्त भवन संचालन गर्ने निर्णय गरेको हो । उक्त भवनमा जेष्ठ नागरिकलाई राखिने सरकारका प्रवक्ता टकराज गुरुङले बताए ।
बृद्धाश्रमको रुपमा प्रयोग गर्ने उदेश्यसहित गण्डकी प्रदेश सरकारले करिव साढेँ चार करोड खर्चेर उक्त भवन बनाएको हो । तर भवनलाई कसरी सदुपयोग गर्ने भन्नेमा यसअघि प्रदेश सरकार आफै अन्योलमा थियो । मन्त्रीपरिषदको निर्णयसँगै अव भने भवन संचालनमा आउने अपेक्षा गरिएको छ ।
कुल तीन रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । जेष्ठ नागरिक राख्नका लागि बनाइएको भवनमा एउटा सभा हल सहित २४ कोठा छन् । सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको छ । भवनमा रंगरोकनसँगै बिजुली जडान भइसक्यो । केही कोठाहरुमा एयर कन्डिसन (एसी) समेत जडान गरिएको छ । भवनसम्म पुग्ने सडकको दुई सय मिटर कालापत्रे र ढलान समेत भइसकेको बताइएको छ ।
पूर्वाधार बिकास कार्यालयका अनुसार २०७६ साल भदौ १ गते आसिस इको जेभीसँग ठेक्का सम्झौता भएर भवन निर्माणको काम अघि बढेको थियो । शहरी बिकास तथा भवन कार्यालयसँग सम्झौता भएर काम अघि बढेपनि उक्त योजना पछि पूर्वाधार बिकास कार्यालयलाई हस्तान्तरण भएको हो ।
दुई बर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि गत असोज महिनामा मात्र भवन सम्पन्न भएको कार्यालयले जनाएको छ । प्रत्येक प्रदेशमा एउटा वृद्धाश्रम बनाउने सरकारको योजना अनुरुप गण्डकी प्रदेशको गोरखामा बनाइएको बताइएको छ ।




