
जेन–जी बिद्रोहमा मारिएकाको परिबारलाई राहत रकम हस्तान्तरण
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन्जी बिद्रोहका क्रममा ज्यान गुमाएका गोरखाका तीन जनाको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत नेपालीहरुले संकलन गरेर पठाएको रकम उनीहरुको घर–घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
काठमाडौंका विभिन्न ठाउँमा भएको जेन्जी बिद्रोहमा ज्यान गुमाएका गोरखा बारपाक सुलिकोट ५ ताकुमाझ लाँकुरीबोटका बिमलबाबु भट्ट, पालुङटार नगरपालिका ३ का अनिष पराजुली र गण्डकी गाउँपालिका ४ का अर्जुन भट्टका परिबारलाई रु. ५० हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको गोरखाका पत्रकार भीमलाल श्रेष्ठले जानकारी दिए ।
जेन्जी बिद्रोहका सहिद बिमलबाबु भट्टका बुवा रामकृष्ण भट्ट, अनिष पराजुलीकी पत्नी मन्जु पौडेल र अर्जुन भट्ट्का बुवा चित्रबहादुर भट्टलाई प्रदान गरिएको हो । एमआरआर दक्षिण कोरियाको संयोजनमा संकलित उक्त रकम पत्रकार भीमलाल श्रेष्ठले सम्बन्धित परिबारलाई सम्बन्धित घर ठेगानामा पुगेर हस्तान्तरण गरिएको हो ।




