| सोमवार, कार्तिक २३, २०८३

एआई एक्स–रे मेसिनद्वारा क्षयरोगी खोज्दै नगरपालिका

गोरखाका दुई नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) एक्स–रे मेसिनद्वारा क्षयरोगीहरुको खोजपड्ताल कार्यक्रम सञ्चालन भएको छ । पालुङ्टार र गोरखा नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरेर क्षयरोगीहरुको पहिचान अभियान सुरु गरिएको हो ।

पालुङ्टार नगरपालिकाको ठाँटीपोखरी बर्थिङसेण्टरमा मंगलबार सो प्रविधिबाट क्षयरोगीको खोजपड्ताल गरिएको स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले जानकारी दिइन् । ‘हामीले सार्वजनिक सूचना जारी गरी शंकास्पद व्यक्तिहरुलाई एआई एक्स–रे मेसिनको प्रयोग गरेर क्षयरोगको ब्याक्टेरिया भए नभएको परीक्षण गर्न आउन आव्हान गरेका थियौं’, उनले भनिन्, ‘मंगलबार एकै दिनमा १७ जना संक्रमितको पहिचान गरियो ।’

अघिल्लो बर्ष २८ जनाको पहचान गरिएको उनले जानकारी दिइन् । सो अभियानअन्तर्गत गोरखा नगरपालिकामा बिहिबार खोजपड्ताल कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए । ‘बिहिबार लक्ष्मीबजार आधारभूत स्वास्थ्य केन्द्रमा एआई एक्स–रे मेसिनको प्रयोग गरी क्षयरोगीको खोजपड्ताल गर्ने कार्यक्रम छ’, उनले भने, ‘हामीले अघिल्लो बर्ष ६० जना, त्योभन्दा अघिल्लो बर्ष पनि ६० जना पत्ता लगाएका थियौं । यो बर्षको फागुन महिनासम्म ३१ जना पत्ता लगाएका छौं । अब बिहिबार केही संख्या थप हुन्छ ।’

गण्डकी प्रदेश सरकारले गोरखाको यी दुई नगरपालिकामा मात्र क्षयरोग खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको हो । क्षयरोगीको खोजपड्ताल गर्न सरकारले देशभरका लागि जम्मा नौवटा एआई एक्स–रे मेसिन ल्याएको छ ।

सातवटा प्रदेशमा सातवटा र राष्ट्रिय क्षयरोगकेन्द्रमा एउटा र कालिमाटीको स्वास्थ्य संस्थामा एउटा एआई उपकरणको व्यबस्था गरेको छ । गण्डकी प्रदेशका ८५ वटा पालिकामध्य गोरखाका दुई पालिकामा यो कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्