| आइतवार, जेष्ठ १६, २०८३

लेखनाथ न्यौपानेको निर्वाचन खर्च २४ लाख ५ हजार

गोरखा क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा निर्वाचन लडेका लेखनाथ न्यौपानेले चुनाव प्रचार प्रसारका क्रममा २४ लाख ४ हजार २८० रुपैँया खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । न्यौपानेले बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च प्रतिनिधि परिचालनमा भएको उल्लेख छ ।

उनले १५० मतदान केन्द्रमा प्रतिनिधि परिचालन गरे बापत सात लाख ७० हजार रुपैँया खर्च गरेको जनाएका छन् । यस्तै, उनले छपाई एवं विद्युतीय प्रचार शीर्षकमा चारलाख ४८ हजार ७५० रुपैँया खर्च गरेको बताएका छन् । नमुना मतपत्र र प्रचार शीर्षकमा उनले उक्त रकम खर्च गरेको खुलाएका हुन् ।

न्यौपानेको निर्वाचन खर्च विवरणमा प्रचार सामाग्री अन्तरगत झण्डा, व्यानर, व्याच एवं कार्ड बनाउनमा तीनलाख ९१ हजार रुपैँया खर्च भएको उल्लेख छ । उनले प्रसार प्रसार तथा घरदैलोको लागी सवारी साधन भाडा बापत एकलाख ७५ हजार रुपैँया खर्च भएको जनाएका छन् ।

कार्यालय संचालन शीर्षकमा भने एकलाख ९० हजार रुपैँया खर्च भएको न्यौपानेले बुझाएको विवरणमा उल्लेख छ । मतदाता नामावली र स्टेशनरीमा न्यौपानेले एकलाख ४२ हजार रुपैँया खर्च गरेका छन् । यसैगरी, मनोनयन दर्ता शीर्षकमा १० हजार र विविध शीर्षकमा ५३ हजार ५३० रुपैँया खर्च भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्