
प्रतिक्षालयदेखि खोलखोलेसम्म सडकको मापदण्डभित्र बनेका संरचना हटाउन निर्देशन
गोरखा सदरमुकाम स्थित प्रतिक्षालयदेखि खोलखोले क्षेत्रसम्म सडकको दुवैतर्फ ८–८ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ । गोरखा नगरपालिका वडा नं ८ को कार्यालयले एक सूचना जारी गर्दै सडक मापदण्डभित्र बनेका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पुरानो बसपार्क देखि खोलखोले सम्मको सडक नाला तथा फुटपाथ निर्माण कार्यक्रमअन्तरगत यो वर्ष प्रतिक्षालय देखि खोलखोलेसम्म फुटपाथ निर्माण हुन लागेको हो ।
‘उक्त क्षेत्रभित्र पर्ने सडकको दाया बाँया ८–८ मिटरभित्र रहेको सेफ्टी ट्याङ्की, अस्थायी टहरा निर्माण गरी संचालनमा रहेको ग्यारेज, घुम्ती पसल तथा निर्माण सामाग्री भण्डारण भएका स्थानहरु यो सूचनाजारी भएको मितिले १५ दिनभित्र स्वयम् घर तथा जग्गा धनीहरुले हटाई स्थान खाली गरि फुटपाथ तथा नाला निर्माणमा कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
सोमबारदेखि लागु हुने गरी १५ दिनभित्र संरचना हटाउनुपर्ने सूचनामा उल्लेख छ । निर्धारित समयभित्र संरचना नहटाए नगरपालिकाले प्रचलित कानुन अनुसार अघि बढी आफ्नो निर्माण कार्य अघि बढाउने सूचनामा भनिएको छ ।




