
गोरखाबाट प्रतिनिधिसभामा चार सांसदले प्रतिनिधित्व गर्दै
गोरखाबाट अब प्रतिनिधिसभामा चारजना सांसद सदस्यले प्रतिनिधित्व गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पठाउने समानुपातिक सांसदहरुको नाम टुंगो लगाएसंगै गोरखाबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या दुईजना थपिएको हो ।
सो पार्टीले आयोगमा बुझाएको ५७ जनाको नाममा गोरखाका एलिजा गुरुङ र शोभा खनालको नाम पनि समेटिएको छ । खस आर्यबाट शोभा खनाल र आदिवासी जनजातिबाट एलिजा गुरुङको नाम समेटिएको रास्वपाको सचिवालयले जनाएको छ ।
पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेकी एलिजा गुरुङ धार्चे गाउँपालिका २ केरौंजाकी हुन् ।
खनाल गण्डकी गाउँपालिका ५ दर्बुङकी हुन् । उनीहरु दुवैजना पार्टीको स्थापना कालदेखि नै सक्रिय योगदान गरेका कार्यकर्ता रहेका रास्वपाका जिल्ला सभापति सुवर्ण रोकाया क्षेत्रीले जानकारी दिए । यसअघि सोही पार्टीबाट प्रत्यक्षतर्फ गोरखा १ बाट सुधन गुरुङ र गोरखा २ बाट कवीन्द्र बुर्लाकोर्टी निर्वाचित भई संसद सदस्य बनिसकेका छन् ।




