| बिहिबार, बैशाख २, २०८३

चुनाव हारेपछि आत्मसमीक्षा गर्दै गोरखाका काङग्रेस–नेकपा

प्रतीक्षा आले ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखाको दुवै क्षेत्र हारेका नेपाली काङग्रेस र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निर्मम आत्मसमीक्षामा लागेका छन् । औपचारिक रुपमा बैठक गरेर समिक्षा नगरेको भएपनि दुवै पार्टीले चुनाव हार्नुका आ–आफ्नै निष्कर्ष निकालेका छन् ।

चुनाव हार्नुमा दुवै पार्टीले आफ्नो पनि केही कमजोरी रहेको स्वीकारेका छन् । भर्खरै सम्पन्न महाधिवेशनले पार्टीलाई रुपान्तरण गरेको भएपनि यसको सन्देश जनस्तरमा पु¥याउन नसकिएको नेपाली काङग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए । गोरखामा नेपाली काङग्रेस सांगठनिक रुपले बलियो भएतापनि जेन जी आन्दोलनपछि सिर्जना भएको देशव्यापी अवस्थाको असर गोरखामा पनि देखिएको उनको तर्क छ ।

‘जेन जी आन्दोलनपछि समाजमा पुराना दलहरुप्रतिको नकरात्मक धारणा सिर्जना भयो । हामी पूराना दलहरुले पनि २० वर्ष शासन गर्दा काम त ग¥यौ तर सुशासनयुक्त काम गर्न सकेनौँ भन्ने लाग्छ । पुराना र नयाँ पुस्ता बीचको ठूलो अन्तरले पनि यो अवस्था आएको हो’, उनले भने ।

देशभरि उत्पन्न भएको नयाँ पार्टीप्रतिको ‘क्रेज’को माहोल गोरखामा पनि देखिएकाले आफूहरु पछाडि परेको उनले स्वीकारेका छन् । नयाँ जेन जी पुस्ताहरुको ‘हिजो नेपाल कस्तो थियो’ भन्दापनि ‘नेपालमा केही भएन’ भन्ने मनोविज्ञानका कारण अहिलेको अवस्था सिर्जना भएको उनको टिप्पणी छ । वर्तमान अवस्थामा नेपाली नागरिकहरु वैकल्पिक शक्तिप्रति आकर्षित भएको देखिएको उनी बताउँछन् ।

पुराना दलहरुले नागरिकले राखेको फरक मतलाई स्वीकार गर्ने, आफ्ना कमी कमजोरी सच्चाउने र नागरिकलाई बुझाउन आवश्यक रहेको उनले बताएका छन् । उनी भन्छन्, ‘हाम्रो संरचनामा पनि नेताचाँहि भएको तर नागरिकसँगको सम्बन्ध स्थापित गर्न नसकेको देखेको छु । त्यो हाम्रो कमजोरी हो र त्यसलाई हामीले स्वीकार्नुपर्छ ।’ नागरिकहरुको नेपाली काङग्रेसप्रतिको भ्रम चिर्न जरुरी रहेको न्यौपानेले बताएका छन् ।

जिल्लाको हकमा काङग्रेसको तुलनामा माओवादी र एमालेका अधिकांश पुराना भोट नयाँ पार्टीलाई गएको उनले दाबी गरे । जसको परिणम स्वरुप वैकल्पिक शक्तिको मत बढ्न गएको उनी बताउँछन् । नेपाली काङग्रेसले आफ्नो पुराना मतदाता गोरखा क्षेत्र नं १ मा थोरै र क्षेत्र नं २ मा केही बढी गुमाएको उनले जनाए । यस विषयमा काङग्रेस गोरखाले वडास्तरबाटै जाँचबुझ गरेर आफ्नो कमी कमजोरीको बारेमा प्रतिवेदन तयार गर्ने तथा छलफल अघि बढाउने उनको भनाइ छ ।

साथै, उनले गोरखाको दुवै क्षेत्रबाट निर्वाचित रास्वपा उम्मेदवारहरुलाई बधाइ तथा शुभकामना समेत व्यक्त गरे ।
नेपाली कम्युनिष्ट पार्टी गोरखा निर्वाचनको बारेमा संस्थागत समिक्षा गर्ने तयारीमा रहेको पार्टीका जिल्ला इन्चार्ज अमर तमुले बताएका छन् । पार्टीको निर्वाचन अनुभव र भावी योजनाको समिक्षा बैठकले नै गर्ने उनले जानकारी दिए ।

यद्यपि उनले व्यक्तिगत रुपमा रास्वपाप्रतिको देशव्यापी लहरको सापेक्ष असर गोरखामा पनि देखिएको बताए । चुनावअघि रास्वपाको लहर गोरखामा पनि देखिएला र पार्टीले हार व्यहोर्नुपर्ला भन्ने अनुमान आफूहरुले नगरेको उनी बताउँछन् ।
‘यस्तो नतिजा आउला, हामीले हार्नुपर्ला भन्ने अनुमान त गरेका थिएनौँ तर हामीले त्यस प्रकारको नतिजा भोग्नुपरेको छ’, उनले भने, ‘नागरिकको पुरानो पार्टीहरु प्रतिको वितृष्णाको असर गोरखामा हाम्रो पार्टी र हाम्रा उम्मेदवारहरुलाई प¥यो ।’ गोरखामा नेपाली कम्युनिष्ट पार्टीले हार्नुपर्ने कारण नै नभएको तमुले बताएका छन् ।

उनी भन्छन्, ‘हामीले संगठनको आधार, उम्मेदवारको व्यक्तित्व लगायत सबै दृष्टिकोणहरुबाट जित्छौँ कि भन्ने लागेको थियो तर भित्रभित्रै मत परिवर्तन भयो । मत परिवर्तन हुँदाको स्थितिमा अनपेक्षित नतिजाबाट हामी स्तब्ध भएका छौँ ।’ हालै सम्पन्न निर्वाचनबाट नेपाली कम्युनिष्ट पार्टीले धेरै शिक्षा लिनुपर्ने र त्यसलाई आगामी दिनहरुमा अबलम्बन समेत गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्