
२०४८ यताका हरेक निर्वाचनमा मत खस्ने दर क्रमशः घट्दै
प्रतीक्षा आले ।
२०८२ को प्रतिनिधि सभा निर्वाचनमा गोरखाको दुवै निर्वाचन क्षेत्रमा गरी जम्मा ५३.३ प्रतिशत मात्र मत खस्यो । कुल दुईलाख २९ हजार ५८ मतदाता रहेको गोरखामा जम्मा एकलाख २२ हजार ३१३ जनाले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
यसअघि भएको २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने जिल्लाका ५० प्रतिशतले मात्र मतदान गरेका थिए । दुईलाख २० हजार ६३७ जना मतदाता रहेको २०७९ को निर्वाचनका क्रममा जम्मा एकलाख १० हजार जनाले मात्र मतदान गरेका थिए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा गोरखाका ६५.३ प्रतिशत मतदाताले मतदान गरेका थिए । कूल दुईलाख २० हजार ६३७ मतदाता रहेको सो निर्वाचनमा एकलाख ४४ हजार जनाले मात्र मतदान गरेका थिए ।
२०७० को संविधान सभा निर्वाचनमा भने जिल्लाबाट ७७.५९ प्रतिशत मतदाताले मतदान गरेका थिए । यो दर गोरखाको निर्वाचनको अहिलेसम्मकै सबैभन्दा धेरै हो । उक्त निर्वाचनका क्रममा जिल्लामा एकलाख ३८ हजार ६५७ मतदाता रहेका थिए । उनीहरु मध्य एकलाख ७ हजार ५७४ जनाले मतदान गरेका थिए ।
२०६४ मा भएको संविधान सभा निर्वाचनमा गोरखाका ६०.६ प्रतिशत मतदाताले मात्र मतदान गरेका थिए । एकलाख ३२ हजार मतदाता रहेको सो निर्वाचनमा ८० हजार जनाले मात्र मतदान गरेका थिए । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा भने गोरखाका ६६.०५ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन कार्यालयको तथ्याङकमा उल्लेख छ । उक्त निर्वाचनका क्रममा एकलाख ९ हजार जना मतदाता रहेको थिए । जसमध्य ७२ हजार जनाले मात्र मतदान गरेका थिए ।
२०५१ र २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका क्रमश ६१.३ र ६४.८ प्रतिशत मतदाताले मतदान गरेका थिए । एकलाख एकहजार मतदाता सङख्या रहेको २०५१ सालमा गोरखाका ६२ हजार जनाले मतदान गरेका थिए । यस्तै, ९४ हजार मतदाता रहेको २०४८ सालमा ६१ हजार जनाले मतदान गरेको उल्लेख छ । २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट नेपाली काङ्गे्रसका राजेन्द्र बजगाई निर्वाचित भएका थिए । उनले कुल मतको ५८.४१ अर्थात ३३ हजार ४२८ मत प्राप्त गरेका थिए ।
२०७४ को निर्वाचनमा भने गोरखा क्षेत्र नं १ बाट तत्कालीन नेकपा (माओवादी)का हरिराज अधिकारी निर्वाचित भएका थिए । अधिकारीले २९ हजार आठसय ६० मत प्राप्त गरेका थिए । यस क्षेत्रबाट संविधान सभा २०७० को निर्वाचनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई निर्वाचित भएका थिए । उनी तत्कालीन एकीकृत कम्युनिष्ट पार्टी नेपाल (एनेकपा माओवादी)बाट २२ हजार आठसय २४ मतसहित विजयी भएका थिए ।
संविधान सभा निर्वाचन २०६४ मा नेकपा माओवादीकी पार्वती थापा श्रेष्ठ, आम निर्वाचन २०५६ र २०५१ र २०४८ मा भने नेपाली काङ्ग्रेसका चिरञ्जीवि वाग्ले यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । प्रतिनिधि सभाको २०७९ मा भएको निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट पुष्पकमल दहाल प्रचण्ड विजयी भएका थिए । प्रचण्डले कुल मतको ५१.२८ अर्थात २६ हजार १०९ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा भने गोरखा क्षेत्र नं २ बाट पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई निर्वाचित भएका थिए । उनी तत्कालीन नयाँ शक्ति पार्टी, नेपालबाट ३१ हजार आठसय ७ भोट ल्याएर निर्वाचित भएका थिए ।
यस क्षेत्रबाट संविधान सभा २०७० को निर्वाचनमा हितराज पाण्डे निर्वाचित भएका थिए । उनी तत्कालीन एकिकृत कम्युनिष्ट पार्टी नेपाल (एनेकपा माओवादी)बाट २० हजार सातसय ६१ मतसहित विजयी भएका थिए । संविधान सभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीबाट डा.बाबुराम भट्टराई, आम निर्वाचन २०५६ , २०५१ मा नेपाली काङग्रेसकी कमला पन्त तथा आम निर्वाचन २०४८ मा नेपाली काङ्ग्रेसकै मायादेवी श्रेष्ठ यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।




