| शुक्रबार, बैशाख १७, २०८३

१२.६ प्रतिशत विद्युत चुहावट, विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता

अनुपमा खनाल : गोरखा जिल्लाभर १२.६ प्रतिशत विद्युत चुहावट हुने गरेको छ । प्राविधिक र अप्राबिधिक दुबै कारण जिल्लामा १२.६ प्रतिशत विद्युत चुहावट हुँदै आएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । आर्थिक बर्ष २०७३ ÷०७४ मा १३.१ प्रतिशत चुहावट रहेकोमा चुहावट नियन्त्रण अभियानले निरन्तरता पाएसँगै चुहावटको क्रम घटेको गोरखा वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले जानकारी दिए ।
प्राविधिक कारणले हुने चुहावट नियन्त्रण गर्न गोरखा वितरण केन्द्रले हाल ट्रान्सफर्मर बिस्तार, काठेपोल विस्थापन, बिजुलीका तार तथा पोल संरक्षण तथा मर्मत लगायतका काम गरिरहेको उनले जानकारी दिए । अप्राबिधिक कारण अन्तरगत उपभोक्ताले विद्युत चोरी गरेर तीनदेखि चार प्रतिशत चुहावट हुने गरेको पाईएको छ । यसैले चोरीका विजुली नियन्त्रण गर्न प्राधिकरणको गोरखा वितरण केन्द्रले इन्जिनियर कृष्ण कंडेलको नेतृत्वमा ७ जनाको टोली परिचालन गरेको छ । सो टोलीले मंगलबार र बुधबार छोप्राक, मिरकोट, गाईखुर र धुँवाकोटमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा १५ घरमा विद्युत चोरी गरी बाल्नुका साथै विभिन्न विद्युतीय उपकरण सञ्चालनमा ल्याइएको पाईएको छ । अनुगमन टोलीले छोप्राकमा मिटर बाइपास गरेर विद्युत चोरी गर्ने तीन जना, मिरकोट, गाइखुर र धुवाकोटमा डाइरेक्ट हुकिङ गरेर पानीको पम्प चलाउने र बत्ती बाल्ने नौ जना र मिटर बाइपास गरेर बत्ती बाल्ने तीन जनाको घरमा बिद्युत लाइन काटेको छ । उनीहरुले प्रयोग गर्दै आएका पाँच थान पानी तान्ने पम्प, दुइ वटा ठुलो फर्निचर मोटर र पाँचसय मिटर भन्दा बढी तार जफत गरिएको गोरखा वितरण केन्द्रका प्रमुख न्यौपानेले जानकारी दिए । उनीहरुलाई नगद जरीवाना सहित कारबाही गरिने उनले बताए । ‘विद्युत चोरी गर्नेलाई सामान जफत सहित जरीवाना पनि तिराइन्छ’ उनले भने ‘हामीले विद्युत चोरीमा प्रयोग गरेका सामान जफत गर्ने र लाईन काट्ने गर्छौ । त्यसपछि उनीहरुसँग भएको विद्युतीय सामाग्रीको क्षमताका आधारमा एक बर्षमा कति विद्युत खपत गर्छन्, त्यो निकाल्छौ र त्यति नै बिगो बरा बरको जरीवाना सहित बिल दिन्छौ । जरिवाना तिरेकालाई हामी विद्युत पुन जडान गरीदिन्छौ र सामान फिर्ता दिन्छौ । तिर्न आनाकानी गर्नेलाई विद्युत दिदैनौ । र सरकारी बाँकी सरह पुलिस प्रशासनको सहयोगमा असुल गर्छौ ।’ विद्युत चोरी गर्ने १५ जनामध्ये ३ जनाले १५ हजार रुपैया जरीवाना तिरेर आफ्नो सामान लगेका उनको भनाई छ । अरु कार्यालयको सम्पर्कमा आउन बाँकी नै रहेको गोरखा वितरण केन्द्रले जनाएको छ । दोस्रो पटक पनि चोरी गरेको पाईएमा जती क्षति भएको छ त्यसको दुई सय प्रतिशत जरिवाना गराउने ब्यबस्था छ ।
जिल्लामा घरेलु प्रयोजन सहित घरेलु उद्योग सञ्चालनमा पनि चोरीको विजुली प्रयोग गर्ने गरेको पाईएको छ । ग्रील उद्योग, फर्निचर, कुटानी पिसानी मिल सञ्चालन गर्ने गरेको पाईएको गोरखा वितरण केन्द्रका प्रमुख न्यौपानेले जानकारी दिए । विद्युत चोरी नियन्त्रणको अभियान जारी रहने उनको भनाई छ । गोरखामा प्राधिकरण अन्तर्गतका कूल ३८ हजार विद्युत उपभोक्ता छन् । गोरखा नगरपालिका, पालुंटार नगरपालिका, सिरानचोक गाउँपालिका, गण्डकी, सहिद लखन र भीमसेन थापा गाउँपालिकाभर केन्द्रीय प्रशारण लाइन बिस्तार भइसकेको छ । अजीरकोट, आरुघाट र बारपाक सुलीकोट गाउँपालिकामा पनि आंशिक रुपमा केन्द्रीय प्रशारण लाइन बिस्तार भएको छ ।

प्रतिक्रिया दिनुहोस्