
निर्वाचनको परिणामप्रति गोरखामा मिश्रित प्रतिक्रिया, पुराना पार्टी र नेतृत्वप्रति असन्तुष्टिको नतिजा भएको तर्क
प्रतिनिधिसभाको १६५ प्रत्यक्ष र ११० समानुपातिक सदस्य पदका लागि गत बिहिबार सम्पन्न निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । देशैभरको मत परिणाम हेर्दा आउँदो पाँच बर्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तिहाई संसद सदस्य हुनेतर्फ उन्मुख देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहले विभिन्न चुनावी सभाहरुमा बोल्दा आफूहरुलाई सरकारमा पाँच बर्ष रहेर चाहेजस्तो काम गर्न स्पष्ट बहुमत ल्याउने अवस्था सिर्जना गरिदिन मतदातासंग अपिल गर्ने गरेका थिए । तर अहिलेको मत परिणामको अवस्था हेर्दा उनीहरु दुई तिहाइतर्फ उन्मुख देखिन्छन् ।
निर्वाचन परिणामका बारेमा गोरखाका केही विश्लेषकहरुसंग कुराकानी गर्दा मिश्रित प्रतिक्रिया आएका छन् ।
स्थानेश्वर दुवाडी:
अहिलेको यो मत परिणाम आउन आम नागरिकका लागि, अरु पार्टीका लागि मात्र होइन, रास्वपा स्वयंमा पनि आश्चर्य र रोचक विषय बनेको छ । यसले नागरिकमा परिवर्तनको तीब्र चाहना रहेछ भन्ने परिदृश्य देखाएको छ । सडकमा विरोध प्रदर्शन गर्नु, नारा, जुलुससहितको आन्दोलन गर्नु मात्र आन्दोलन होइन, परिवर्तनको पक्षमा मतदान गर्नु पनि आन्दोलन हो भन्ने प्रमाणित गरेको छ ।
पुराना राजनीतिक दलका नेताहरुले पटक पटक सत्तामा पुगेपछि सेवक भएर राष्ट्रको सेवा गरेको भए यो अवस्थाको सामना गर्नुपर्ने थिएन । शासक बनेर सत्ता र शक्तिको दुरुपयोग गरेका कारण नागरिकले यो अवस्था सिर्जना गरेका हुन् ।
यो नागरिकको परिवर्तनको चाहना हो, पुराना दलप्रतिको वितृष्णाको प्रकटिकरण हो ।
के अब राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालन गरेपछि चमत्कारपूर्ण परिवर्तन होला भन्ने सवालको सो पार्टीले चुनौति सामना गर्नु पर्ला । अब उनीहरु शासक होइन, सेवक भएर काम गर्नुपर्छ । तुरुन्त संविधान संशोधन गर्न सक्ने अवस्था छैन । राष्ट्रिय सभामा आफ्नो बहुमतीय प्रतिनिधित्व नभएकाले चाहेजस्ता कामहरु तत्काल गर्न पाउने अबस्था पनि रास्वपामा छैन ।
मतदाताको चाहना अपार हुन्छ । उनीहरुमा तीब्र परिवर्तनको आशा हुन्छ । भोट माग्न जाँदा मतदातासंग गरेका बाचा, प्रतिवद्धताको हरहिसाब गरेर बसेका हुन्छन् । यदि पूरा नगरेमा वा पूरा गर्नेतर्फ गएको नदेखेमा उनीहरुको पनि दिन गन्न थाल्नेछन् ।
पवनरमण खनाल :
रास्वपाले यति धेरै मत ल्याउनुको मुख्य कारण बालेनको क्रेज हो । त्यस्तै रास्वपाको आकर्षण मात्र नभै, पुराना पार्टीप्रतिको विकर्षण पोखिएको हो । यदि रास्वपाप्रतिको आकर्षणले हुन्थ्यो भने मत खस्ने दर ५२/५३ प्रतिशत मात्र होइन, त्यो भन्दा धेरै हुन्थ्यो । यति कम मत खस्नुले मतदातामा भोट दिने चासो कम रहेछ भन्ने देखिएको छ ।
दशकौँदेखि पुराना पार्टी, पुराना नेता देख्दादेख्दै वाक्क भएका नागरिकले नीति र नेतामा परिवर्तन हेर्ने चाहनाले नयाँ पार्टीप्रति भोट खन्याएका हुन् । नत्र तीनबर्षअघि गठन भएको पार्टीको गाउँगाउँमा संगठन छैन, उल्लेखनीय नीति, सिद्धान्त, नेता पनि छैनन्, तैपनि यति धेरै मत आएको छ ।
पुराना पार्टीका नेताहरुले खडेरीका बेला सुख्खा लागेको खेतमा पानीका निहुँमा झगडा गरेझैँ सँधै पद र शक्तिको भागवण्डाका निहुँमा झगडा गरेको देखेर वाक्क भएका जनताले कुनै विकल्प नपाएर केही परिवर्तन भइहाल्छ कि भन्ने चाहनाले घण्टीमा भोट खन्याएका हुन् ।
कांग्रेसले नेतृत्व त परिवर्तन ग¥यो तर धेरै ढिला गरी । एमाले माओवादीले पनि परिवर्तन गरेनन् । यसले गर्दा जनता झन चिढिने काम भयो । जेनजी आन्दोलनले ल्याएको परिवर्तनको लहरलाई अंगाल्ने काम पुराना दलबाट नभएकाले जनताले नयाँपनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजेका हुन् ।
कुनैबेला दिल्लीका जनताले केजरीवाल नेतृत्वको आम आदमी पार्टीलाई यसरै नै रोजेका थिए, तर त्यो पार्टीले जनताको माग तथा चाहनालाई उचित सम्बोधन गर्न नसकेकाले दोस्रो कार्यकालमा पत्तासाफ भयो । यहाँ यस्तो अवस्था नआओस् ।
बद्री मास्के:
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा पार्टीले मात्र होइन, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट वा अरु धेरै पार्टीले पनि भोट हालेका छन् । निर्वाचनको यो परिणाम सबै पुराना पार्टी र नेतासंगको असन्तुष्टिको नतिजा हो । गत भदौ २३ र २४ गते भएको घटनाको शान्तिपूर्ण जवाफ भनुँ वा त्यसको परिणाम पनि हो यो ।
आजभोलि त सबैको हातहातमा मोबाइल छ । सँधै पुरानै दलका नेताहरुको कुस्ताकुस्ती, आरोप प्रत्यारोप मात्र मोबाइलमा हेरेका छन्, टिभीमा देखेका छन् । काम केही देखेका छैनन् । विदेशमा रहेकाले आफू बसेको देश र आफ्नो देशको विकासको तुलना गरेका छन् । अनि कहिल्यै, कसैबाट पनि त्यस्तो परिवर्तनको आशा, अपेक्षा नरहेकाले नयाँ गर्छौँ भन्नेहरुप्रति आशा र भरोशा गरेर भोट हाल्न परिबारलाई दबाब दिएकाले पनि नतिजा यस्तो देखिएको हो ।
हेरौं, दुई तिहाइ बहुमत ल्याएपछि परिवर्तन त ल्याउँछन् ल्याउँछन् । नल्याई त सुख्खै छैन । नत्र आफ्नै एजेण्डा आफैलाई गलपाँशो हुनेछ । अब दुईतिहाइ बहुमतको बलले राष्ट्रिय सभा फेरेर हुन्छ कि, राष्ट्रपति परिवर्तन गरेर हुन्छ परिवर्तन गरेर देखाउनु पर्ने चुनौति उनीहरुसंग छ ।




