
गोरखा–१ : मतपेटिका संकलन नहुदाँ मतगणना हुन सकेन
सबै मतपेटिका संकलन नहुदाँ गोरखा–१ को मतगणना सुरु हुन सकेको छैन । बिशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रहरुबाट मतपेटिका आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चुमनुव्री गाउँपालिकामा कुल २३ वटा मतदान केन्द्र हुन् । ती केन्द्रका मतपेटिका शुक्रवार नेपाली सेनाको हेलिकप्टर मार्फत ढुवानी थालिएको थियो । तर, खराव मौसमका कारण सबै केन्द्रको मतपेटिका ढुवानी हुन नसकेको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए ।
‘नौ वटा केन्द्रको मतपेटिका आयो, १४ वटाको अझै बाँकी छ,’ उनले भने, ‘मौसमले साथ नदिएपछि अरु फ्लाइट हुन सकेन ।’ नाम्रुङ, प्रोक र सिर्दिवासका मतदान केन्द्रहरुबाट मतपेटिका संकलन हुन बाँकी रहेको उनले जानकारी दिए । भने, ‘हेलिकप्टर यही स्ट्याण्डवाई छ भोली मौसम सफा भयो भने बिहानै लिएर आउँछ ।’




