| सोमवार, कार्तिक २३, २०८३

हिमाली भेगका अधिकांश मतदानकेन्द्रमा मतदान सकियो


हिमाली भेगका अधिकांश मतदान केन्द्रमा मतदान करिब सकिएको छ । एकसय तथा एकसय भन्दा कम मतदाता रहेका केन्द्रहरुमा मतदान करिब सकिएको त्यहाँ खटिएका कर्मचारीले जानकारी दिएका छन् ।

मतदान सकिए पनि नियमअनुसार पाँचबजेसम्म मतदानकेन्द्र कुरेर बस्ने उनीहरुको भनाइ छ । ‘यहाँ बाह्र बजेतिरै मतदान सकिएको हो, तर पाँच बजेसम्म कुरेर बस्नु पर्छ भनेर पर्खेर बसेका छौँ’, फिलिम आधारभूत विद्यालय पातीका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले भने, ‘कूल १९८ मतदाता हुन् । १३८मत खस्यो । पार्टीका प्रतिनिधिहरुले भोट हाल्न आउने मतदाता करिब करिब यति नै हो भनेका छन् ।’

सिदुङ आधारभूत विद्यालय सस्र्युँमा पनि मतदान सकिएको छ । १४५ मतदाता रहेकामा ८६ मत खसेपछि मतदाता आउन रोकिएका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए । उनले पनि पाँचबजेसम्म कुर्नुपर्ने नियमअनुसार कुरेर बसिरहेको बताए ।

क्वाक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ । कूल एकसय मतदाता रहेका यहाँ ४० मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत विपिन रेग्मीले जानकारी दिए ।
१११ जना मतदाता रहेका छाक आधारभूत विद्यालयमा पनि मतदान सकिएको मतदान अधिकृत रमेश ढकाल बताउँछन् । उनका अनुसार त्यहाँ ५५ मत खसेपछि मतदाता आउन छाडेका हुन् ।

१०४ मतदाता रहेका साम्दो आधारभूत विद्यालय मतदानकेन्द्रमा बिहान ११ सम्म जम्मा २४ मत खस्यो । त्यसपछि मतदाता आउन छाडेका मतदान अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार जाडो छल्न काठमाडौं झरेका मतदाताहरु केही बाटोमा आउँदै गरेको जानकारी प्राप्त भएको छ ।

चुमनुब्री ५ को क्राक आधारभूत विद्यालय मतदातकेन्द्रमा पनि मतदान करिब सकिएको छ । १३७ मतदाता रहेका यहाँ ८० मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत बलराम श्रेष्ठ बताउँछन् । नियमअनुसार मतदानकेन्द्र कुरेर बसिरहेको उनी बताउँछन् ।

१३७ मतदाता रहेका वुद्ध हिमाली आधारभूत विद्यालय मतदातकेन्द्र न्याकमा पनि ९० मत खसेपछि मतदाता आउन छाडेका छन् । करिब १०० मत मात्र खस्ने दलका प्रतिनिधिहरुले अनुमान गरेका मतदान अधिकृत इतराज पोखरेल बताउँछन् ।
चुम्लिङ आधारभूत विद्यालय चुम्चेत मतदातकेन्द्रमा पनि मतदान करिब सकिएको छ । १७५ मतदाता रहेका यहाँ १२ बजेभित्र ६९ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत सन्दीप मरहट्टाले जानकारी दिए ।

लार्केबजार स्वास्थ्यचौकी मतदानकेन्द्र नाम्रुङमा पनि दुईघण्टादेखि मतदाता आएका छैनन् । जिल्लाकै सबैभन्दा कम जम्मा ७६ मतदाता रहेका यहाँ २४ मत खसेपछि मतदाता आएका छैनन् । कोही आउलान् भनेर पर्खेर बसिरहेको मतदान अधिकृत राजेन्द्र खनाल बताउँछन् ।
१७६ मतदाता रहेका सिद्ध गणेश आधारभूत विद्यालय मतदानकेन्द्र चुम्लिङमा पनि ८४ मत खसेपछि मतदाता आउन छाडेका छन् । ‘लगभग सकिएको हो भन्ने प्रतिनिधिहरुको कुरा छ’, उनी भन्छन्, ‘कतिपय मृत्यू भइसकेकाको पनि नाम नकाटिएको र कोही विदेशमा रहेका छन् ।’

१५८ मतदाता रहेका सिप्चेत आधारभूत विद्यालय मतदातकेन्द्रमा ६६ मत खसेपछि मतदान रोकिएको कर्मचारी आशिष पाण्डेले जानकारी दिए । त्यहाँ अब दलका प्रतिनिधिहरुको मात्र मतदान बाँकी रहेको उनीहरुको भनाइ उद्धृत गर्दै पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्