| आइतवार, जेष्ठ १६, २०८३

२ लाख ३० हजार मतदाता आज मतदान गर्दै, २५ जना उम्मेद्वार चुनावी मैदानमा

प्रतिनिधिसभा निर्वाचन २०८२ को आज मतदान गर्ने दिन गोरखाका दुईलाख ३० हजार चारसय ५४ मतदाता आज मतदान गर्दैछन् । क्षेत्र नं. १ मा एक लाख २५ हजार २१४ तथा क्षेत्र नं २ मा एकलाख ५ हजार २४० मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

गोरखाका ११ पालिकाका मतदाताका लागि मतदान गर्न २२५ मतदानस्थल र ३३१ मतदान केन्द्र निर्धारण गरिएको छ । साथै कर्मचारीका लागि जिल्ला समन्वय समितिमा एउटा र कैदीबन्दीका लागि कारागार कार्यालयमा एउटा अस्थायी मतदान केन्द्र गरी जम्मा ३३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

गोरखाका दुवै क्षेत्रबाट नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संयुक्त नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल रिपब्लिक नेपाल र आम जनता पार्टीका उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

गोरखा १ मा ११ राजनीतिक दलका ११ र स्वतन्त्र एक गरी १२ उम्मेद्वार चुनावी मैदानमा छन् । कांग्रेसबाट प्रेमकुमार खत्री, नेकपाबाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने, रास्वपाबाट सुधन गुरुङ, नेकपा (माओवादी)बाट बिष्णुप्रसाद रिजाल, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगर, राप्रपाबाट केदारमणी खनाल, नेमकिपाबाट मनुकुमारी श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा, संयुक्त नागरिक पार्टीबाट जितबहादुर घले र नेशनल रिपब्लिक नेपालबाट आकाश राना मगर चुनाव लडेका छन् ।

त्यस्तै गोरखा २ मा ११ राजनीतिक दलबाट ११ र र स्वतन्त्र दुई गरी १३ उम्मेद्वार चुनावी मैदानमा छन् । कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, एमालेबाट मिलन गुरुङ (चक्रे मिलन), रास्वपाबाट कविन्द्र बुर्लाकोटी, राप्रपाबाट कुलबहादुर बस्नेत, नेकपा (माओवादी)बाट टेकबहादुर प्रधान, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेमकिपाबाट रामशरण बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट प्रसाद गुरुङ र आम जनतापार्टीबाट कल्पना कुमाल चुनावी मैदानमा छन् ।

आसन्न निर्वाचनका लागि जिल्लाबाट तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गोरखा–१ बाट कविता भट्टराई र २ बाट चुडाप्रसाद ढकाल र हरि पोखरेलको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भट्टराई गोरखा नगरपालिका–१ की हुन् । ढकाल सिरानचोक गाउँपालिका वडा नम्वर २ का हुन् भने पोखरेल अजिरकोट गाउँपालिका–५ का हुन् ।

गत २०७९ को निर्वाचनका लागि २ लाख १८ हजार, ५६३ मतदाता थिए । यसपटक ११,८९१ मतदाता संख्या वृद्धि भएको कार्यालयले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्