
भोट माग्न गएका रास्वपाका हरिशरण आचार्यलाई स्थानीयले लखेटे
गोरखा नगरपालिका–१० छेवेटारमा भोट माग्दै गएका राष्ट्रिय स्वतन्त्र पार्टीका हरिशरण आचार्यलाई स्थानीयले लखेटेका छन् । सोमवार दिउँसो भोट माग्ने क्रममा स्थानीय शेखर पन्तको घरमा पुगेका बेला उनी लखेटिएका हुन् ।
सशस्त्र द्वन्द्वको समयमा आचार्यकै कारण आफूहरु बिस्थापित हुनुपरेको भन्दै पन्तका परिवारले उनलाई लखेटेको स्वीकारे । ‘संकटकालको बेला बारम्बार घरमा आएर बुबालाई छात्तिमा बन्दुक तेस्र्याएर मार्छु भन्दै धम्क्याउने गथ्र्याे,’ शेखर पन्तकी छोरी सविताले भनिन्, ‘उसले त्यतिबेला मार्ने धम्की दिएर गाउँमा बस्न नसक्ने बनाएको ब्यक्ति हामी नै हो भन्ने बिर्सिएर आज घरमा भोट माग्न आएको थियो, हामीले पहिलेको कुरा याद छ की छैन, भनेर प्रतिवाद गरेको भाग्यो ।’
पार्टीगत हिसावले नभई व्यक्तिगत हिसावले आचार्यलाई बहिष्कार गर्नुपरेको उनले बताइन् । भनिन्, ‘यही मान्छेले गर्दा हामी यहाँबाट काठमाडौँ बिस्थापित हुनुपरेको थियो’, उनले भनिन्, ‘केही दिनअघि उसैलाई सहिद परिबारले पनि लखेटेका थिए, । यस्ता अराजक मान्छेलाई स्थान दिनु हुदैन ।’
आचार्यले भने यसलाई राजनीतिक प्रतिशोधको रुपमा लिए । ‘कांग्रेस, माओवादी सबैलाई अरु कसैसँग डर छैन, राजनीतिक रुपमा म सँग छ,’ उनले भने, ‘यही हो नेता यहाँको र हाम्रो कार्यकर्ता खोसेको पनि यही हो भनेर आक्रोश पोखेका हुन् ।’ उनीहरुले आफूमाथि गालिगलौज गरेको उनले स्वीकार गरे ।
आचार्य यसअघि तत्कालिन माओवादीबाट नयाँ शक्ति हुदैं रास्वपा प्रवेश गरेका हुन् । बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीमा रहँदा चुनाव जितेर उनी गण्डकी प्रदेश सांसद तथा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री समेत बनेका थिए । हाल उनी रास्वपाको चुनावी कमाण्डर बनेर निर्वाचनमा खटिएका छन् ।




