
कविन्द्रलाई जिताएर पठाउनू, मन्त्री बनाउने जिम्मा मेरो भयो ः स्वर्णिम
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले गोरखा २ का उम्मेद्वार कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाएमा आफूले मन्त्री बनाउने बताएका छन् । सोमबार सो क्षेत्रको भच्चेक बजारमा आयोजित चुनावी सभामा बोल्दै वाग्लेले पार्टी स्थापनामा बुर्लाकोटीको ठूलो योगदान रहेको भन्दै उनलाई मत दिन आग्रह गरेका हुन् ।
‘पार्टीमा रगत, पसिना, आँशु सबै पु¥याउनु भएका पार्टीका संस्थापक नेतालाई पार्टीले गोरखा २ को उम्मेद्वार बनाएर पठाएको छ । तपाईहरुलाई लाग्ला उहाँ एउटा सांसद मात्रै त हो नि’, उनले भने, ‘तपाईहरु उहाँलाई सांसद बनाएर पठाउनु होस्, उहाँलाई मन्त्री बनाउने जिम्मा मेरो भो ।’
आफूहरु कसैलाई गाली नगर्ने भन्दै नेता वाग्लेले नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित कटाक्ष गरे । ‘हाम्रो पार्टीले अरु दलहरुप्रति, अरु उम्मेद्वारहरुप्रति कटाक्ष गर्ने गरेको छैन’, उनले भने, ‘तर एउटा अचम्मचाहिँ म परिरहेको छु, हाम्रा स्मरणशक्ति कति छोटो हुँदो रहेछ भनेर । यही भदौ २३ र २४ को आन्दोलनमा एकजना नेताको घर जल्यो । उहाँले थुपारेको लुटको धन जल्न पनि तीन दिन लाग्यो । अर्का नेता देशलाई शून्यतामा पु¥याएर हेलिकोप्टरमा झुण्डिएर भागाभाग भएर मकवानपुर पुगेर ज्यान जोगाउनुप¥यो । अहिले उहाँहरु हुँकार गर्न थालेका छन् । यी नयाँहरु आए भने देश बिग्रिन सक्छ भनेर बोल्न सक्ने नैतिक अधिकार कहाँबाट आयो ?’ पुरानाहरुले देशलाई थिलोथिलो बनाएको उनको आरोप थियो ।




