
गोरखा २ मा कांग्रेस र प्रलोपाद्वारा संयुक्त चुनावी प्रचार
गोरखा २ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय भए लगत्तै बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का जिल्ला नेता कार्यकर्ता नेपाली कांग्रेससंग मिलेर चुनावी प्रचारप्रसारमा छन् । उनीहरु आइतबारदेखि नै संयुक्त प्रचार प्रसार टोली बनाएर घरदैलोमा खटिएका हुन् ।
प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वको प्रचार प्रसार टिम नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेद्वार प्रकाशचन्द्र दवाडीसंग मिलेर सोमबार बिहानैदेखि पालुङ्टार नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो प्रचार प्रसार गरिरहेको सो पार्टीले जनाएको छ ।
संयुक्त टोली बनाएर हिडिरहेका उनीहरुमध्य कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रुख चिन्हमा मत मागेको छ भने प्रलोपाले प्रत्यक्षमा रुख र समानुपातिकमा आँखा चिन्हमा मत मागिरहेको छ ।
प्रचारप्रसार टोलीमा प्रलोपाका समानुपातिक उम्मेदवार लाल बहादुर विक, केन्द्रीय सदस्य यानप्रसाद भट्ट सरोज, अमृत आचार्य, जिल्ला अध्यक्ष नारायण खत्री सहभागी छन्। कांग्रेसको तर्फबाट उम्मेदवार प्रकाशचन्द्र दवाडी छन् । प्रचार अभियानमा प्रलोपाका जिल्ला अध्यक्ष खत्रीले आफ्ना मतदातासँग बिगतमा कांग्रेसले आँखा चिन्हमा भोट दिएको सम्झेर अहिले रुखमा मतदान गर्न आग्रह गरिरहेका छन् । साथै स्थानीय तहको चुनाव र प्रदेशको चुनावसम्म पनि कांग्रेससँग सहकार्य हुनसक्ने सम्भावना सम्झेर मतदान गर्न आग्रह गरेका छन् ।
‘‘नेपाली काँग्रेससँग स्थानीय तहको चुनाव र प्रदेशसम्म सहकार्य गर्ने सहमति भएको छ । त्यसलाई कार्यान्वयन गर्नेछौँ’, खत्री भन्छन् ‘हाम्रो विचारलाई स्थापित गर्न त्यही ढंगले लाग्नुहुनेछ भन्ने विश्वास छ ।’ यसअघि २०७४ को चुनावमा पनि तत्कालीन नयाँ शक्तिले काँग्रेससँगै गठबन्धन गरेको थियो ।




