
आचारसंहिता विपरित राखिएका सामग्री हटाउन अनुगमन समिति संक्रिय
आचारसंहिता विपरित सार्वजनिक स्थलमा राखिएका दलको निर्वाचन चिन्ह अंकित झण्डा तथा तोरन हटाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत नेत्रप्रसाद शर्मा नेतृत्वको टोलिले शनिवार अनुगमनको क्रममा पालुङटार र सिरानचोक गाउँपालिकाका केही स्थानमा उक्त सामग्री फेला पारेको थियो । आचारसंहिता विपरित सार्वजनिक स्थानमा भेटिएका उक्त सामग्री तत्काल हटाउन लगाइएको शर्माले बताए ।

‘अनुगमनको क्रममा पालुङटारको बाघडाँडा र सिरानचोकको हर्मीका केही स्थानमा सार्वजनिक ठाउँमै दलहरुको निर्वाचन चिन्ह अंकित झण्डा र तोरन राखेको भेट्यौ,’ उनले भने, ‘तत्काल त्यही हटाउन लगायौ ।’ लक्ष्मीबजारमा टाँगिएको तोरन पनि हटाउन लगाइएको उनले बताए । पटक पटक निर्वाचन आचारसंहिताबारे दलहरुलाई सचेत गराउँदै आएको समेत उनले जानकारी गराए ।

उनका अनुसार आचारसंहिता उल्लघंनका केही उजुरीहरु समेत परेका छन् । आचारसंहिता उल्लघंन गर्नेमा ठुला दलहरु बढी देखिएको उनले जानकारी गराए । समितिले उनीहरुलाई सचेत समेत गराइसकेको उनले बताए ।

उनका अनुसार कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन, लोगो, झोला, व्याज, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन मिल्दैन । यसबारे हरेक पटकको सर्वपक्षिय बैठकमा जानकारी समेत गराइदै आएको छ । तर आचारसंहिता विपरित केही स्थानमा दलहरुले झण्डा र तोरन टांग्ने गरेका छन् ।




