| आइतवार, जेष्ठ १६, २०८३

सिँहदरबार हामी बनाउँछौँ, गुमेका भाइबहिनी कहिल्यै फर्केर आउँदैनन् : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिँहदरबार फेरि बनाउन सकिने, तर गुमेको आमाको कोख कहिल्यै नभरिने बताएका छन् । गोरखा सदरमुकाममा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले पहिले गोली चलेको, त्यसपछि सिँहदरबार जलेको दाबी गरेका हुन् ।

‘यहाँ कसैकसैले भ्रम फैलाएका छन्, सिँहदरबार जलायो, विध्वंस ग¥यो आदि आदि । तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन’, उनले भने, ‘जो ढल्यो त्यो फेरि कहिल्यै उठ्दै, रित्तिएको आमाको काख कहिल्यै भरिन्न । सिँहदरबार हामी बनाउँछौं । हो जल्नु हुन्नथ्यो । संरचना जलेकोमा हामी गौरव गरेका छैनौं । हिँसालाई रास्वपाले कहिल्यै विश्वास गर्दैन ।’ आफू पनि वा कोही पनि प्रश्नभन्दा माथि कोही पनि नरहेको उनले बताए ।

अर्को फरक प्रसंगमा उनले धर्मका नाममा, जातिका नाममा, भूगोलको नाममा राजनीति नगर्न उनले बताए । ‘म तपाईहरुलाई छातीमा हात राखेर भन्दैछु, धर्मका नाममा द्वन्द्वको बिउ रोपियो भने त्यसको फल कस्तो हुन्छ, विश्वका धार्मिक युद्ध मच्चिरहेका देशका उदाहरण हेर्नुस्’, उनले भने, ‘हरेक जातजाति, धर्म संप्रदायमा विश्वास राख्नेहरुलाई उत्तिकै सम्मान गर्ने हाम्रो सिद्धान्त हो ।’

प्रतिक्रिया दिनुहोस्