
यो महाभारत हो, कौरव पाण्डव तपाईहरु छुट्याउनु होस् : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई महाभारत भएको भन्दै को कौरव हुन् र को पाण्डव हुन् छुट्याउन आग्रह गरेका छन् । गोरखाको पालुङ्टारमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफूहरु जनताबाट पाएको विश्वासलाई जोगाइराख्न अत्यन्तै सचेत रहेको बताए ।
‘यो महाभारत हो, यहाँ को कौरव हुन्, को पाण्डव हुन् तपाइँहरुले छुट्याउनुहोस्’, उनले भने, ‘हामी को हौँ, हामीले भन्ने कुरा होइन, तपाइँले भन्ने कुरा हो । तर यसपटक परिवर्तनको जबर्जस्ती घण्टी बजाउनु पर्छ ।’
उनले अर्को एक प्रसंगमा किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन रोजेको बताए । ‘प्रधानमन्त्री त मलाई यिनले किस्तीमा राखेर दिएका थिए । तर किस्तीमा आएको प्रधानमन्त्री छोडेर कैदी हुन रोजेको मान्छे हुँ म । यिनका घरमा जलेका एउटा दुइटा बोरामा कम्प्रमाइज गरु भनेको भए गर्न सकिन्थ्यो होला नि । तर जनतालाई धोका दिन्न, बरु ज्याद दिन तयार छु ।’ आफूलाई कहिलेकहीँ आफैसंग डर लाग्ने भन्दै उनले जनताको आशा र भरोसा पानीमा मिलाइन्छ कि, जनतालाई धोका दिइन्छ कि, मति भ्रष्ट भइन्छ कि, विवेक शून्य भइन्छ कि, बहुलाइन्छ कि भनेर डर लाग्ने उनले बताए ।




