| आइतवार, जेष्ठ १६, २०८३

प्रदेशसभाबाट प्रतिनिधिसभामा छलाङ मार्ने प्रयास गर्दै प्रकाश दवाडी

बिकास मरहट्टा ।
गोरखा क्षेत्र नं. २ प्रदेशसभा खका मतदातालाई उनी नौलो अनुहार होइनन् । २०७४ सालको चुनाव जितेर प्रदेश सांसद भइसकेका छन् । गोरखा–२ को ‘ख’ प्रदेशबाट बिजयी बनेका अजिरकोट गाउँपालिका–४ सिम्जुङका तीनै प्रकाशचन्द्र दवाडी आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट प्रत्यक्षतर्फको उम्मेदवार छन्, नेपाली कांग्रेसबाट ।

२०३२ सालमा जन्मेका उनको बाल्यकाल गाउँमै बित्यो । हिमालय माविबाट एसएलसी दिए । स्नताक तह काठमाडौ क्याम्पसबाट उर्तिण गरे । अनि रोजगारीका लागि जापान लागे । २०४६ सालमा विद्यालयको नेविसंघ उपसभापति बनेर सुरु भएको उनको राजनीतिक यात्रा जापान गएसँगै थाती रह्यो ।

करिव १३ बर्ष जापानमै बिताए । उतै व्यवसाय गरेका उनको नेपाल आउने जाने क्रम भने चलिरह्यो । नेपाल आएका बेला सामाजिक कार्यमा संक्रिय देखिन्थे उनी । स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै जनतामाझ परिचित बन्दै गए । समाजसेवामार्फत राजनीतिको गोरेटो समातेका उनी कांग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न सफल भए । ‘समाजसेवातिर अग्रसर हुदैं गए,’ उनले भने, ‘१३ औं महाधिवेशनमा तपाई अघि बढ्नुपर्छ भनेर गाउँठाउँबाटै प्रतिनिधि पठाइदिनुभयो अनि जिते पनि ।’

१४ औं महाधिवेशनबाट उनी गण्डकी प्रदेश कार्यसमिति सदस्य बने । कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रवक्ता समेत भइसकेका उनी अहिले संघीय सांसद बन्ने दौडधुपमा छन् । २०७४ को प्रदेश सभा निर्वाचनमा प्रत्यासी उम्मेदवार तत्कालिन माओवादी–एमाले गठबन्धनका उम्मेद्वार अमर तमुलाई २ हजार ४४२ मतान्तरले पछि पार्दै दवाडी बिजयी बनेका थिए । कुल ३० हजार ९६० मत खसेको थियो । १०७५ मत बदर भएका थिए ।

प्रदेशबाट संघमा छलाङ मार्न दवाडीलाई त्यति सजिलो भने देखिदैन । एक त अहिले दलहरुबीच चुनावी तालमेल छैन । दलपिच्छेका उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश सभा सांसद जित्न २०७४ मा दवाडीलाई सघाएका बाबुरामले यो पटक कसलाई सहयोग गर्छन् भन्ने एकीन छैन । उनी र उनी आवद्ध पार्टीको साथ र समर्थनले गोरखा–२ को जीतमा महत्वपूर्ण अर्थ राख्छ ।

बिगतका निर्वाचनको नजिता केलाउने हो भने २०६४ सालमा बाबुराम भट्टराईले माओवादीबाट जितेका थिए । माओवादीका हितराज पाण्डेले कांग्रेस उम्मेदवार रविकला खनाललाई १२ हजार ८३२ मतान्तरले हराएका थिए ।

२०७४ को चुनावमा कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग चुनावी तालेमेल गर्दै गोरखा–१ आफूले लियो र गोरखा–२ भट्टराईलाई छाड्यो । कांग्रेसको समर्थन पाएका भट्टराइले माओवादीका नारायणकाजी श्रेष्ठलाई भारी मतान्तरले हराए ।

२०७९ को चुनावमा कांग्रेसले फेरि सो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्यो । उक्त चुनावमा प्रचण्डको निकटत्तम प्रतिद्वन्द्वी उम्मेदवार बन्न आइपुगे राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी । कांग्रेसको समर्थन पाएका प्रचण्डसँग बुर्लाकोटी भारी मतान्तरले पराजित बन्न पुगे ।

तर आसन्न निर्वाचनमा दलहरुबीच चुनावी गठबन्धन छैन । नितान्त कांग्रेसकै मतबाट चुनाव जित्नुपर्ने बाध्यता दवाडीलाई छ । चुनावी तालमेलका कारण दुई पटकसम्म सो क्षेत्र छाडेको कांग्रेसले मतभारको अंकगणित निकाल्न पनि मुश्किल छ । कतिपय कांग्रेसकै कार्यकर्ता रास्वपा प्रवेश गरेका छन् । सो क्षेत्रमा दवाडीको लोकप्रियता भएपनि बलिया प्रतिस्पर्धीका कारण जीत त्यति सहज देखिदैन । माओवादी केन्द्रका लेखनाथ न्यौपाने, एमालेका मिलन गुरुङ (चक्रे मिलन), राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी उनका प्रतिस्पर्धी छन् ।

तर जनताले यसपटक पुनः आफूलाई न्याय गर्नेमा दवाडी ढुक्क छन् । आफूले गरेका सामाजिक कार्य नै जीतको बलियो आधार भएको उनी तर्क गर्छन् । ‘शिक्षाको क्षेत्रमा भन्ने हो भने अनाथ असहाय बिद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छु,’ उनले भने, ‘बिद्यालय भवनदेखि सामुदायिक भवन निर्माणसम्म सहयोग गरेको छु ।’ प्रदेश सांसद भए वापत पाएकोसेवा सुविधा उनले सामाजिक कार्यमा खर्च गरेका थिए ।

बाबुरामले २०७४ को गुन सहयोग सम्झेर आसन्न निर्वाचनमा आफूलाई समर्थन गर्नेमा उनी बिश्वस्त छन् । भन्छन्, ‘बाबुरामलाई २०७४ को चुनावमा कांग्रेसले सहयोग गरेर जितायो, त्यसको गुनबापत यो पटक हामीलाई सहयोग गर्नुहुन्छ, भन्ने बिश्वास लिएको छु ।’ बिशेष महाधिवेशन पश्चात कांग्रेसले नयाँ यात्राको थालनी गरेको भन्दै उनले अब नयाँ पुरानो नभन्न आग्रह समेत गरे । उनी अहिले घरदैलो अभियानमा मतदाता भेट्न व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्