
निर्वाचन आचारसंहिता र मिडियाको भूमिका सम्बन्धी अन्तरक्रिया
गोरखामा ‘निर्वाचन आचारसंहिता र मिडियाको भूमिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार प्रेस काउन्सिल नेपाल, जिल्ला निर्वाचन कार्यालय गोरखा र पत्रकार महासंघ गोरखाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत रहमतुल्ला मियाँले निर्वाचनका क्रममा पत्रकार र संचारमाध्यमहरुको दायित्व र भूमिकाको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले पत्रकार र संचारमाध्यमले गर्न नहुने कुराहरु, प्रेस काउन्सिल ऐन २०४८ तथा पत्रकार आचारसंहिता २०७३ को विषयमा कार्यक्रममा चर्चा गरेका थिए ।
निर्वाचनका क्रममा पत्रकार तथा संचारमाध्यमहरुले गरेका हरेक क्रियाकलाप प्रेस काउन्सिल नेपालले निगरानी गरिरहेको मियाँको भनाई छ । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले ‘निर्वाचन र आमसञ्चार’को विषयमा सहजिकरण गराएका थिए । जिल्लामा हालसम्म भएका निर्वाचनका गतिविधिहरु तथा जिल्ला निर्वाचन कार्यालयले गरेका कामहरु बारेमा उनले प्रस्तुती दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यहरु विजयराज अधिकारी र भिमलाल श्रेष्ठले काउन्सिलले निर्वाचन अघि र पछि पनि पत्रकार आचारसंहिताको रक्षा गरेको बताएका थिए । गोरखाका पत्रकार एवं संचारमाध्यमहरु आचारसंहिता भित्र रहेर काम गरिरहेको उनीहरुको भनाइ थियो ।
प्रेस काउन्सिल नेपालका सदस्य भिमलाल श्रेष्ठको अध्यक्षता एवं जिल्ला न्यायधिस विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य विजयराज अधिकारी, काउन्सिलका प्रशासकीय अधिकृत रहमतुल्ला मियाँ, प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइराला, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल एवं जिल्लामा कार्यरत पत्रकार एवं संचारमाध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




