| सोमवार, कार्तिक २३, २०८३

आफ्नो माग पूरा नगरे कसैलाई भोट नदिने बराम संघको चेतावनी

आदिवासी बराम जातिको प्रतिनिधिमूलक साझा संस्था नेपाल बराम संघले गोरखाका प्रतिनिधिसभा सदस्य उम्मेद्वारलाई ज्ञापनपत्र बुझाएको छ । आसन्न निर्वाचन नजिकिँदै गर्दा गोरखा क्षेत्र नं १ र २ का सबै उम्मेदवारलाई संविधानको व्यवस्था तथा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न माग गर्दै ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

संघले संविधानको धारा ५६ (५) अनुसार अल्पसंख्यक तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र गठन गर्नुपर्ने प्रावधान तत्काल कार्यान्वयन गर्न उम्मेदवारहरूलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेको छ ।

बराम संघका अध्यक्ष भद्र कुमारी बरामका अनुसार यदि उम्मेदवारहरूले उक्त संवैधानिक व्यवस्था र अदालतको आदेशप्रति प्रतिबद्धता नजनाएमा सम्बन्धित उम्मेदवारलाई “नो भोट” गर्ने ज्ञापनपत्रमा उल्लेख छ । फागुन ५ गते रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी संघले आफ्नो अडान सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्