| सोमवार, कार्तिक २३, २०८३

नयाँबजारको सिटीहल मतदानकेन्द्र यो चुनावको ‘मोडल बुथ’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदान स्थलको एउटा केन्द्रलाई नमूना मतदान केन्द्रका रुपमा सञ्चालन गर्ने भएको छ । गोरखा नगरपालिका वडा नं. ७ नयाँबजारमा रहेको सिटीहल मतदानस्थलमा रहेका दुईमध्य मतदानकेन्द्र ‘क’लाई मोडल बुथका रुपमा सञ्चालन गर्न मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी, स्वयंसेवक पनि महिला मात्र खटाइएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सातसय मतदाता रहेको त्यहाँ दुई मतदानकेन्द्र छन् ।

सो केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयसेवक तथा सहयोगी कर्मचारीहरु पनि महिला नै राखिएका छन् । यी मतदान केन्द्रमा खटिने सबै सुरक्षाकर्मी पनि महिला छन् । त्यहाँ प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य प्रशासक(उपसचिव) सिम्रन काफ्लेको नेतृत्वमा ६ जना महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार त्यहाँ सहायक मतदान अधिकृत गोरखा जिल्ला अदालतकी नायव सुब्बा देवीकुमारी शर्मा खटाइएको छ । त्यस्तै सहायक कर्मचारीहरुमा बारपाक सुलिकोट गाउँपालिकाकी महिला विकास निरीक्षक इन्दिरा बराल, सहिद लखन गाउँपालिकाकी सामाजिक परिचालक सुनिता थापा, ढुंगागाढे आधारभूत विद्यालयकी शिक्षक बिनु बिक खटाइएको छ । सहयोगी कर्मचारीका रुपमा जिल्ला सरकारी वकिल कार्यालयकी कार्यालय सहायक शान्ता थापालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो मतदानकेन्द्रमा महिला असईको कमाण्डमा महिला सुरक्षाकर्मी र निर्वाचन प्रहरी पनि महिलामात्र परिचालन हुने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए । महिला नेतृत्वको सबलीकरणलाई प्रोत्साहन गर्न ३३३ मतदानकेन्द्रमध्य एउटालाई नमूना मतदानकेन्द्रका रुपमा सञ्चालन गर्ने नीति बनाएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखाका २२५ मतदानस्थलमा स्थायी ३३१ र अस्थायी २ गरी ३३३ मतदान केन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा ६ जना कर्मचारीका दरले एकहजार नौसय ९२ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले सोमबार र मंगलबार ६६६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्