
प्रकाशचन्द्र दवाडीको घोषणापत्र : कृषि, पर्यटन र दिगो पूर्वाधार, समग्र गोरखाको विकासको आधार !
नेपाली काङ्ग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच दवाडीले ‘कृषि, पर्यटन र दिगो पूर्वधार, समग्र गोरखाको विकासको आधार’ भन्ने मूल नारासहितको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
‘विधिको शासन जवाफदेहिता र पारदर्शिता, विकास र रोजगारीका लागि युवा सहभागिता’, दवाडीको घोषणा पत्रमा भनिएको छ । आफूले चुनाव जिते गोरखा क्षेत्र नं २ अन्तरगतका ३४ वटै वडा कार्यालयहरु पुग्ने मुख्य सडकहरु ५ वर्षभित्र स्तरोन्नति गर्दै कालोपत्र गर्ने अठोट दवाडीले गरेका छन् । निर्माणका क्रममा रहेका तथा अलपत्र परेका आयोजनाहरु समयमै सम्पन्न गर्न दृढतापूर्वक लाग्ने उनले बताएका छन् ।
गोरखा क्षेत्र नं २ भित्रका सबै गाउँबस्ती जोड्ने मुख्य तथा शाखा सडक, कृषि सडक र अन्य पहुँच मार्गलाई स्तरोन्नति गरेर बाह्रै महिना संचालन ल्याउन संघ, प्रदेश तथा स्थानीय तहहरुसँग समन्वय गर्ने उनको प्रतिबद्धता छ । यसैगरी, उनले गोरखा नगरपालिका एवं अन्य पालिकाहरुमा सडक, खानेपानी तथा ढल निकासा व्यवस्थित गर्दै डिजिटल सेवा सुचारु गर्न पहल गर्ने बताएका छन् ।
खेलमैदानहरुलाई व्यवस्थित गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने तथा खेलाडीहरुलाई आवश्यक प्रशिक्षणको व्यवस्थापनमा पहल गर्ने उनको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रमा हाल संचालनमा आएको प्राविधिक शिक्षालायहरुलाई समयानुकुल विषय थप गर्ने नीति दवाडीले लिएका छन् । प्रत्येक गाउँपालिकाहरुमा मेगा विद्यालयको अवधारण मेगा विद्यालय स्थापनाका लागि नीतिगत पहल गरिने उनको घोषणापत्रमा उल्लेख छ ।
स्थानीयतहहरुसँग सहकार्य गरेर प्रत्यक विद्यालयहरुमा एआई, रोबोटिक्स, साइबर सेक्युरिटी जस्ता नवीनतम् सूचना प्रविधि सम्बन्धी तालिम संचालन गर्ने उनको योजना छ । ‘निर्वाचन क्षेत्रभित्र गुणस्तरीय संचार तथा इनटरनेट सेवा बिस्तारका लागि पहल गरिने छ’, उनले जारी गरेको घोषणापत्रमा भनिएको छ, ‘सबै विद्यालयहरुमा डिजिटल प्रविधियुक्त कक्षाकोठाको व्यवस्थाका लागि आवश्यक पहल गरिने छ ।’
विपन्न स्वास्थ्य सेवा कोषको व्यवस्था गरी बाल स्वास्थ्य, जेष्ठ नागरिक, विपन्न, शारीरिक रुपमा अशक्तहरुको स्वास्थ्य उपचारको व्यवस्था गरिने उनले बताएका छन् । यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई सरल र प्रभावकारी रुपमा लागु गर्ने प्रतिबद्धा दवाडीले जनाएका छन् । आकस्मिक स्वास्थ्य सेवा तथा रिफरका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिले उनको घोषणापत्रमा भनिएको छ ।
मुटु रोग, क्यान्सर, दम, खोकी, मानसिक रोग लगायत नसर्ने रोगहरुको नियमित जाँचपड्लात सहितको स्क्रीनिङ सेवाको माध्यमबाट समयमा नै रोगको पहिचान, रोकथाम र उपचारको व्यवस्था मिलाइने उनको घोषणापत्रमा उल्लेख छ ।
मानक वन्यजन्तु सहअस्तित्व कायम गरी राष्ट्रिय निकुन्जमा स्थानान्तरण गर्ने लगायतका विषयमा नीतिगत व्यवस्थाका लागी पहल गरिने उनको भनाई छ ।
वैदेशिक रोजगारीमा गएका गोरखा क्षेत्र नं २ का बासी, जो नेपाल फर्कन चाहान्छन उनीहरुलाई सहुलियतमा ऋण उपलब्ध गराउन नीतिगत व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।




