| सोमवार, कार्तिक २३, २०८३

३२२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

गोरखाका ७ पालिकामा रहेका मतदानकेन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चुमनुब्री, धार्चे, आरूघाट, भीमसेनथापा, बारपाक सुलिकोट, अजिरकोट र गण्डकी गाउँपालिकामा निर्धारण गरिएका १६१ मतदानकेन्द्रमा खटिएका ३२२ मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सोमबार जिल्ला निर्वाचन कार्यालयले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

गोरखा क्याम्पस गोरखामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतम, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासे, सहायक निर्वाचन अधिकृत कृष्ण मुरारी सिग्देल, प्रमुख कोष नियन्त्रक इन्द्रप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी धनेश्वर पौडेल, प्रहरी उपरीक्षक भरतबहादुर विक, प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठ, जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले प्रशिक्षण दिएका थिए ।

सो अभिमुखिकरण कार्यक्रममा प्रदेश सचिव डण्डुराज घिमिरेले सहभागीलाई आवश्यक निर्देशन दिएका थिए । सो कार्यक्रममा निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री तथा अनुसूचीको प्रयोग तथा महत्व, कानूनी पक्ष, मतदान प्रक्रिया, सुरक्षा योजना, जनशक्ति तथा आर्थिक पक्ष लगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।

मंगलबार गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र शहिद लखन गाउँपालिका अन्तर्गतका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृत, अस्थायी मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृत, जगेडा मतदान अधिकृत तथा सहायक मतदान अधिकृत साथै सोमबारको अभिमुखिकरण कार्यक्रममा छुटेका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्