| सोमवार, कार्तिक २३, २०८३

सुत्केरी महिलालाई आफैले बोकेर उद्धार गर्दै दुर्गमका स्वास्थ्यकर्मी

गुणस्तरीय स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो । तर, नेपालको दुर्गम भेगका गाउँबस्तीहरुका नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि निकै सास्ती खेप्नु परेको अवस्था छ । विकट क्षेत्रमा बसोबास गर्ने उत्तरी गोरखाका बासिन्दाहरु सामान्य स्वास्थ्य उपचारका लागि घण्टौँ पैदल हिँड्नु पर्ने बाध्यता छ ।

सडक सञ्जालले नछोएको गोरखाको चुमनुब्री गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु घरघरै बिरामी खोज्न जानुपर्ने बाध्यता रहेको पालिकाको वडा नं ७ छेकम्पारमा कार्यरत अहेब अवधेस दास बताउँछन् । छेकम्पार स्वास्थ्य चौकीमा कार्यरत उनको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले गत आइतबार सुत्केरी बेथाले च्यापेकी एकजना महिलाको सकुशल उद्धार गरेको छ ।

छेकम्पार अन्तरगत पर्ने लेरु गाउँकी २५ वर्षीय छेवाङ लामालाई एक घण्टाको उकालो बाटो बोकेर स्वास्थ्य चौकी ल्याएको स्वास्थ्यकर्मी अवधेस दासले बताए । सुत्केरी बेथा लागेको लामालाई प्रहरी र स्वास्थ्यकर्मी मिली छेकम्पारस्थित स्वास्थ्यचौकीसम्म बोकेर ल्याएको उनले जानकारी दिए । ‘उकालो बाटो, त्यही माथि अप्ठेरो । बल्लतल्ल प्रहरी र हामी स्वास्थ्यकर्मी मिलेर सुत्केरीलाई स्वास्थ्यचौकी ल्याएका थियौँ’, उनले भने, ‘स्वास्थ्यचौकी ल्याएको केही घण्टामा बिरामीले स्वास्थ बच्चा जन्माउनुभयो । सोमबार डिस्चार्ज पनि गरिसक्यौँ ।’ सुत्केरीको समयमै उद्धार नभएको भए ज्यानै जान सक्ने दास बताउँछन् ।

उनी भन्छन्, ‘उहाँको गर्भावस्थाको अन्तर धेरै थिएन । यसअघिको बच्चा जम्मा १५ महिनाको छ, यस्तो अवस्थामा घरैमा बच्चा जन्माउँदा धेरै रगत बगेर आमाको ज्यान जान सक्ने खतरा हुन्छ । उहाँहरु घरैमा बच्चा जन्माउने तयारीमा हुनुहुन्थ्यो, गाह्रो भएपछि बल्ल हामीलाई खबर गर्नुभयो । हाम्रो टोली घरैमा गएर सम्झाइबुझाइ गरेर उहाँलाई स्वास्थ्यचौकी ल्याएका हौँ ।’

सरकारले घरमा शिशु जन्माउने ‘होम डेलिभरी’को केस सून्य बनाउने नीति लिएको भएता पनि उत्तरी गोरखाको अधिकांश महिलाहरुले अझै पनि घरैमा बच्चा जन्माउने गरेको दासको भनाइ छ । विकट क्षेत्रका विशेष गरी आर्थिक अवस्था कमजोर भएका महिलाहरु घरैमा बच्चा जन्माउन बाध्य रहेको उनले बताएका छन् ।

चुमनुब्रीको अधिकांश गाउँका मानिसहरु सुत्केरी हुँदा नदी तर्नु हुँदैन भन्ने मान्यता राख्छन् । यसले गर्दा गर्भवती महिलाहरु नियमित स्वास्थ्य जाँच गर्न तथा सुत्केरी गराउन स्वास्थ्यचौकी जाँदैन । पालिकाको अधिकांश स्वास्थ्य चौकीहरुमा सुत्केरी गराउने उपकरणहरुको पनि अभाव छ ।

छेकम्पार स्वास्थ्यचौकीमा भने किमोलुङ फाउन्डेशनले २०७९ सालमा बर्थिङ सेन्टर स्थापना गरेको छ । सामान्य अवस्थाको सुत्केरी छेकम्पारकै बर्थिङ सेन्टरमा हुने भएता पनि स्थानीयहरुले घरैमा सुत्केरी गराउने गरेको अहेब अवधेस दासले बताएका छन् । दासका अनुसार छेकम्पारको बर्थिङ सेन्टरमा तीनवर्षमा जम्मा दुईजनाले सुत्केरी गराएका छन् ।

चुमनुब्री गाउँपालिका वडा नं ७ अन्तरगत पर्ने लार, निले, छुले, लामागाउँ लगायतका गाउँबस्तीहरुबाट छेकम्पार स्वास्थ्यचौकी आइपुग्न चार–पाँच घण्टा पैदल हिँड्नुपर्छ । स्वास्थ्यचौकी सम्म आइपुग्न पनि समस्या हुने भएकाले महिलाहरु घरैमा शिशु जन्माउन बाध्य छन् ।

पालिकाको स्वास्थ्यकर्मीहरु घरघरै पुगेर गर्भवती महिला र उनका परिवारहरुलाई स्वास्थ्यचौकीमा आएर स्वास्थ्य सेवा लिन प्रोत्साहन गर्ने गरेका छन् । रुढीबादी परम्परा र अशिक्षाका कारण अधिकांश महिला तथा बालबालिकाहरु स्वास्थ्य सेवाबाट बञ्चीत हुने अवस्था रहेको त्यहाँ कार्यरत्त स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्