| आइतवार, जेष्ठ १६, २०८३

गोरखामा १९९२ मतदान कर्मचारी खटिने

आसन्न निर्वाचनमा गोरखामा १९९२ जना मतदान कर्मचारी परिचालन गरिने भएको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाका दुई निर्वाचन क्षेत्रका ३३३ मतदानकेन्द्रमा सो संख्यामा मतदान कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

‘दुई निर्वाचन क्षेत्रमा ३३१ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र गरी ३३३ मतदान केन्द्रहरु छन्’, कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘प्रत्येक निर्वाचन केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदानकेन्द्रमा तीन जनाका दरले मतदान कर्मचारी खटिनेछन् ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखाको जिल्ला समन्वय समिति र कारागार कार्यालय गोरखामा अस्थायी मतदानकेन्द्र स्थापना गरेको छ । कारागारमा २० जना कैदीबन्दी र १० जना कर्मचारी गरी ३० जनाले मतदान गर्दैछन् । जिसस मतदानकेन्द्रमा ९५१ कर्मचारीले मतदान गर्दैछन् ।

प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी खटिने उनले बताए । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कर्मचारी व्यवस्थापनको काम भइसकेको छ । उनीहरुको नाम शुक्रबार प्रकाशित गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।

छनोट भएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ । जिल्लाभरका ३३१ मतदानकेन्द्रमा खटिने कर्मचारीले आफै खटिएको मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था छ । कैदीबन्दी र कर्मचारीहरुले समानुपातिकमा मात्र मतदान गर्ने व्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्