| सोमवार, कार्तिक २३, २०८३

मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन २२ दिनसम्म ठप्प रहने

मस्र्याङ्दी जलविद्युत केन्द्रको बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार सुरु भएको छ । मर्मत सम्भार कार्य सुरु भएपछि ६९ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रबाट अहिले विद्युत उत्पादन ठप्प भएको छ । गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत उत्पादन बन्द गरिएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए ।

कालीगण्डकी लगायतका विभिन्न आयोजनाबाट मिस्त्री, मजदुर झिकाएर मर्मत कार्य गरिएको भट्टले जानकारी दिए । ‘बाँधमा बालुवा थुप्रिएर सफा गर्नुपर्ने भएको थियो । गेट पनि धन्नै भत्किने अवस्थामा पुगिसकेको थियो । सुरुङ र अन्य संरचनाहरुको पनि ठाउँठाउँमा मर्मतसम्भार गर्नुपर्ने भएको थियो’, भट्टले भने, ‘त्यसैले पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको छ । धमाधम मर्मत कार्य भइरहेको छ ।’

आउँदो चुनावको भोलिपल्ट अर्थात फागुन २२ गतेबाट सो आयोजनाको विद्युत उत्पादन सुचारु गर्ने उनले बताए । २०४२ सालदेखि सञ्चालन गरिएको मस्र्याङ्दी जलविद्युत आयोजनाको तीन टर्बाइनबाट ६९ मेगावाट विद्युत उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्