
गोरखामा ११ उम्मेदवारले मात्र खोले बैंक खाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि गोरखाका कुल उम्मेदवारमध्ये ११ जनाले मात्र बैंक खाता खोलेका छन् । २५ जना उम्मेदवारहरु रहेको गोरखामा हालसम्म ११ जनाले खाता खोलेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।
निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरुले अनिवार्य बैंक खाता खोल्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्ने व्यवस्था रहेको छ ।
सुवेदीका अनुसार गोरखामा बुधबारसम्मको रेकर्डअनुसार १४ जना उम्मेदवारले अझैसम्म छुट्टै निर्वाचन खाता खोलिसकेको छैनन् । गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काङग्रेसका प्रेमकुमार खत्री, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदार मणी खनाल, मंगोल नेशनल अर्गनाइजेसनका देवबहादुर थापा र संयुक्त नागरिक पार्टीका जितबहादुर घलेले खाता खोलेका छन् ।
यस्तै, क्षेत्र नं २ बाट नेपाली काङग्रेसका उम्मेदवार प्रकाश चन्द्र दवाडी, मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ, उज्यालो नेपाल पार्टीका बलराम तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलबहादुर बस्नेत, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने र नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङले निर्वाचन खाता खोलेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा अनिवार्य रूपमा छुट्टै खाता खोल्नु पर्नेछ । सम्पूर्ण चुनावी खर्च सोही खाताबाट मात्र गर्न पाइने व्यवस्था गरिएको छ । साथै, उम्मेदवारले आफ्नो तर्फबाट खर्च व्यवस्थापन गर्ने एकजना अख्तियार ब्यक्ति तोक्नुपर्नेछ ।
उक्त पदाधिकारीको नाम, ठेगाना र विवरण निर्वाचन अधिकृतको कार्यालय तथा सम्बन्धित निर्वाचन कार्यालयमा अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ । राजनीतिक दलका हकमा पनि समान व्यवस्था लागू हुने जनाइएको छ । दलले पनि निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च छुट्टै बैंक खातामार्फत गर्नुपर्नेछ । दलले तोकेको जिम्मेवार अख्तियार प्राप्त ब्यक्तिले मात्र उक्त खाताबाट खर्च गर्न पाउनेछन् ।




