
राजनीतिमा आएको ३६ बर्षपछि पहिलोपल्ट चुनावी मैदानमा न्यौपाने
प्रतिक्षा आले ।
विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय गोरखा सिरानचोक गाउँपालिका ३ हर्मीका लेखनाथ न्यौपाने ३६ वर्षपछि पहिलो पटक चुनावी मैदानमा उत्रिने अवसर पाएका छन् । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनी नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वारका रुपमा गोरखा क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिएका हुन् ।
पहिलो पटक चुनावी मैदानमा उभिएका उनी वौद्धिक र बेदाग राजनीतिकर्मीका रुपमा परिचित छन् । पार्टीभित्र र बाहिर आलोचनात्मक चेत भएका नेताका रुपमा उनी चिनिन्छन् । २०३० साल चैत २८ गते बुबा कुबेरदत्त न्यौपाने र आमा सरस्वती न्यौपानेको ११ माध्ये आठौँ सन्तानका रुपमा उनको जन्म भएको थियो । पालुङटारको जनता माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका उनी ९ कक्षादेखि विद्यार्थी राजनीतिमा संलग्न थिए । क्याम्पस पढ्न थालेपछि मात्र सापेक्षित सचेततासहित विद्यार्थी राजनीतिमा सक्रिय हुन थालेको उनी बताउँछन् ।
न्यौपाने अनेरास्ववियू (क्रान्तिकारी)को महेन्द्ररत्न क्याम्पस ताहाचलका क्याम्पस इकाई अध्यक्ष, काठमाडौं जिल्ला अध्यक्ष हँुदै २०५२ सालमा अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्य थिए । यस्तै, २०५४ सालमा अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय कोषाध्यक्ष, २०५६ सालमा उपाध्यक्ष र २०६० र २०६७ (दुई कार्यकाल) अध्यक्षको जिम्मेवारीमा थिए ।
उनको राजनीतिक जीवन २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र)को सदस्यबाट सुरु भएको थियो । उनी २०५२ सालमा नेकपा (माओवादी)को एरिया सदस्य थिए । यस्तै, उनले २०५४ सालमा माओवादीको जिल्ला सदस्य, २०५८ सालमा उपब्यूरो, २०५९ सालमा ब्यूरो सदस्य हुँदै ललितपुर र मकवानपुर जिल्ला इन्चार्जका रुपमा काम गरेका छन् ।
न्यौपाने २०६९ सालमा तत्कालीन नेकपा–माओवादीको केन्द्रीय सदस्य थिए । त्यसपछि उनी २०७२ सालमा नेकपा (माओवादी केन्द्र)को सचिवालय सदस्य बने । माओवादी केन्द्र र एमाले बीचको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा पनि उनी थिए ।
लेखनाथ न्यौपाने २०५४ सालदेखि २०५८ सालसम्म विभिन्न ६ वटा मुद्दा खेप्दै ४ वर्ष लगातार जेल बसेका थिए । २०५८ मा रिहा भएका उनलाई तत्कालीन सरकारी सुरक्षा शक्तिले नभेटेता पनि उनको टाउको ल्याउनेलाई २५ लाख इनामको घोषणा गरिएको थियो । ५२ वर्षीय न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर उत्तिर्ण गरेका छन् ।
हाल चुनावी प्रचारमा व्यस्त न्यौपानेले आफ्नो मुख्य चुनौती सही यर्थाथ बोल्दा चुनावी वातावरण बिग्रन्छ कि भन्ने रहेको बताएका छन् । ‘हाम्रोमा मतदाताहरुलाई स्वतन्त्रता पूर्वक मतदान गर्नका निम्ती सहयोग पुग्ने वातावरण बनाउने, त्यो अनुसारको मतदाता शिक्षा दिने भन्दा पनि झुठो प्रलोभन देखाउने, पैसाको आश्वसन दिने, मतदातालाई भेडाबाख्रा सम्झने तरिकाहरु कतिपय दलहरुले अपनाएको अनुभुति भएको छ । यसबिचमा मैले ती कुराहरु गलत हुन् भन्ने सम्झाउनका लागी अलि चुनौती छ’, उनले भने ।
उनी आफ्ना कुराहरु स्पष्टसँग राख्ने र जनतालाई स्वतन्त्रता पूर्वक मतदान गर्न प्रेरित गर्ने पक्षमा छन् । पार्टीभित्र फरक मत राख्दै आएका न्यौपाने आफू सांसद भैसकेपछि राजनीतिक दलले सांसदहरुलाई ह्वीप लगाउने विषय माथि बहश गर्ने बताएका छन् ।
‘पार्टीको ह्वीप लगाउने आफ्नै कानुनी व्यवस्था छ त्यो बिरुद्ध म जान मिल्दैन तर कतिपय विषयमा राजनीतिक पार्टीले सांसदहरुलाई ह्वीप लगाउन मिल्दैन भन्ने विषयमा पैरवी गर्छु’, उनले भने, ‘पार्टीहरुले राष्ट्रयता, परराष्ट्र मामिला, जनजीवका सम्बन्धी नितिगत विषयबस्तुहरुमा ह्वीप लगाउन हुँदैन, मिल्दैन भन्ने विषयमा म पैरवी गर्ने छु ।’




