
गोरखाको संसदीय निर्वाचनको ३४ बर्षको नालीबेली, अहिले चार पार्टी बीच कडा टक्कर
प्रतीक्षा आले ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा १२ दलका उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, संयुक्त नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल रिपब्लिक नेपाल र आम जनता पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
संयुक्त नागरिक पार्टीले क्षेत्र नम्वर १ मा मात्र उम्मेदवारी दर्ता गरेको छ भने आम जनता पार्टीको तर्फबाट क्षेत्र नम्वर २ मा मात्र उम्मेदवारी परेको छ । गोरखा १ मा कांग्रेसबाट प्रेमकुमार खत्री, नेकपाबाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने, रास्वपाबाट सुधन गुरुङ, नेकपा (माओवादी)बाट बिष्णुप्रसाद रिजाल, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगर, राप्रपाबाट केदारमणी खनाल, नेमकिपाबाट मनुकुमारी श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनबाट देवबहादुर थापा, संयुक्त नागरिक पार्टीबाट जितबहादुर घले र नेशनल रिपब्लिक नेपालबाट आकाश राना मगरले उम्मेदवारी दिएका छन् ।
त्यस्तै गोरखा २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, एमालेबाट मिलन गुरुङ(चक्रे मिलन), रास्वपाबाट कविन्द्र बुर्लाकोटी, राप्रपाबाट कुलबहादुर बस्नेत, नेकपा (माओवादी)बाट टेकबहादुर प्रधान, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेमकिपाबाट रामशरण बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट प्रसाद गुरुङ र आम जनतापार्टीबाट कल्पना कुमालले उम्मेदवारी दर्ता गरेका छन् ।
आसन्न निर्वाचनका लागि जिल्लाबाट तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गोरखा–१ बाट कविता भट्टराई र २ बाट चुडाप्रसाद ढकाल र हरि पोखरेलको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भट्टराई गोरखा नगरपालिका–१ की हुन् । ढकाल सिरानचोक गाउँपालिका वडा नम्वर २ का हुन् भने पोखरेल अजिरकोट गाउँपालिका–५ का हुन् ।
जिल्लामा मतदाताको सङ्ख्या भने दुईलाख ३० हजार चारसय ५४ रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । गत २०७९ को निर्वाचनका लागि आयोगले २,१८,५६३ मतदाता नामावली संकलन गरेको गोरखामा अहिले ११,८९१ मतदाता संख्या वृद्धि भएको हो ।
यस्तै जिल्लामा २२५ वटा मतदान स्थलहरु रहेका छन् भने मतदान केन्द्रको सङख्या ३२१ रहेको कार्यालयको भनाइ छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखामा चार प्रमुख पार्टी बीच कडा प्रतिस्पर्धा हुने भएको छ । पुरानो बिरासत बोकेको नेपाली कांग्रेस, नयाँ बिरासत बनाएको नेपाली कम्युनिष्ट पार्टी, देशभर सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको नेकपा एमाले र नयाँ उदीयमान पार्टी रास्वपा बीच कडा टक्कर हुने भएको हो ।
चुनावी रापताप बढ्दै गएका बेला कुन पार्टीका उम्मेद्वारले सर्वाधिक मत प्राप्त गर्नेछन् भन्ने अनुमान गर्न सकिने अबस्था अहिलेसम्म बनेको छैन । यसअघि, २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट नेपाली काङ्गे्रसका राजेन्द्र बजगाई निर्वाचित भएका थिए । माओवादी पार्टीसंग गठबन्धन गरेर उनले कुल मतको ५८.४१ अर्थात ३३ हजार ४२८ मत प्राप्त गरेका थिए । अहिले सो पार्टीबाट प्रेम खत्री चुनावी मैदानमा छन् ।
२०७४ को निर्वाचनमा भने गोरखा क्षेत्र नं १ बाट तत्कालीन नेकपा (माओवादी)का हरिराज अधिकारी निर्वाचित भएका थिए । अधिकारीले २९ हजार आठसय ६० मत प्राप्त गरेका थिए । उनी अहिले पनि उम्मेद्वार छन् । यस क्षेत्रबाट संविधान सभा २०७० को संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई निर्वाचित भएका थिए । उनी तत्कालीन एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट २२ हजार आठसय २४ मतसहित विजयी भएका थिए ।
संविधान सभा निर्वाचन २०६४ मा नेकपा माओवादीकी पार्वती थापा श्रेष्ठ, आम निर्वाचन २०४८, २०५१ र २०५६ मा भने नेपाली काङ्ग्रेसका चिरञ्जीवि वाग्ले यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । गोरखा २ मा प्रतिनिधि सभाको २०७९ को निर्वाचनमा कांग्रेससंगको गठबन्धनका उम्मेद्वार पुष्पकमल दहाल प्रचण्ड विजयी भएका थिए । माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले कुल मतको ५१.२८ अर्थात २६ हजार १०९ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा भने गोरखा क्षेत्र नं २ बाट पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई निर्वाचित भएका थिए । उनी तत्कालीन नयाँ शक्ति पार्टी, नेपालबाट ३१ हजार आठसय ७ मत ल्याएर निर्वाचित भएका थिए ।
यस क्षेत्रबाट २०७० को संविधान सभा निर्वाचनमा हितराज पाण्डे निर्वाचित भएका थिए । उनी तत्कालीन एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट २० हजार सातसय ६१ मतसहित विजयी भएका थिए भने संविधान सभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीबाट डा.बाबुराम भट्टराई निर्वाचित भएका थिए ।
आम निर्वाचन २०५६ र २०५१ मा नेपाली काङग्रेसकी कमला पन्त तथा आम निर्वाचन २०४८ मा नेपाली काङ्ग्रेसकै मैयादेवी श्रेष्ठ यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।




