
दशैंमेलामा सात करोडको आर्थिक कारोबार
गोरखा च्याम्बर अफ कमर्शले पहिलो पटक गोरखा सदरमुकाममा आयोजना गरेको दसदिने दशै सस्तो बजार एवं सडक मेलामा साढे सात करोड रुपैया भन्दा बढिको आर्थिक कारोबार भएको छ ।
गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारीको खेलकुद मैदानमा असोज २० गतेदेखि ३० गतेसम्म सञ्चालित मेलामा लक्ष्य भन्दा बढिको कारोबार भएको आयोजकले दाबी गरेको छ ।। आयोजकले यसअघि छ करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको थियो । मेला अबलोकन गर्नेको संख्या पनि अपेक्षा गरेको भन्दा बढि भएको गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाई चन्द्र श्रेष्ठले जानकारी दिए । आयोजकले यसअघि ४० देखि ६० हजार दर्शकले मेला अबलोकन गर्ने लक्ष्य राखिएपनि ६५ हजारभन्दा बढिले मेलाको अबलोकन गरेका आयोजकको दाबी छ ।
मेलामा पहिलो पटक बिक्रीका लागि ल्याइएको च्याङग्रा तथा खसीबोको बिक्रीबापत ३३ लाख रुपैया बराबरको कारोबार गरिएको थियो । आयोजकका अनुसार ५५ च्याङग्रा र ६५ खसी बोका मेलाबाट बिक्री गरिएको थियो । स्थानीय उत्पादन र ब्यबसायको प्रबद्र्धन गर्ने उदेश्यले आयोजित मेलामा हिमाली क्षेत्रका च्याङग्रा, सिलाम, आलु, जडिबुटी लगायतका उत्पादन प्रदर्शनी तथा बिक्री गरिएको थियो ।
यस्तै, स्थानीय स्तरमा आरनबाट बनाएको हतियार, ढाकाको कपडा, हस्तकलाका सामाग्री, नेपाली जुत्ताचप्पल, अल्लोका कपडा, भान्साका सामाग्री, बुटिकका कपडाहरु पनि स्टलमा राखीएको थियो ।
घटस्थापनाको दिन विधिवत रुपमा सुरु गरिएको दुर्गा पुजाको समापन पनि धार्मिक मान्यता अनुसार पूर्णिमाको दिनमा नै गरिएकोे च्याम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।




