| सोमवार, कार्तिक २३, २०८३

प्रयोगशाला तथा विशेषज्ञ सेवा थप गर्ने अस्पताल विकास समितिको पहिलो निर्णय

गोरखा अस्पतालमा नाक, कान, घाँटी, छाला रोगलगायत आवश्यकता अनुसारका विशेषज्ञ सेवा विस्तार गर्न पहल गर्ने निर्णय भएको छ । नवगठित अस्पताल विकास समितिको बिहिबार सम्पन्न पहिलो बैठकले विशेषज्ञ सेवा तथा प्रयोगशाला सेवा बिस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले हाल सेवा प्रवाह रोकिएको मानसिक रोग सेवालाई निरन्तरता दिने र नयाँ सेवाको रुपमा इण्डोस्कोपी सेवा र प्रयोगशालामा गरिने विभिन्न १७ किसिमका नयाँ परिक्षण सेवाहरु थप गरी सेवा सुरु गर्ने पनि निर्णय गरेको छ । साथै बैठकले अस्पतालको सेवा प्रवाहलाई सुदृढिकरण गर्नका लागि अस्पताल व्यवस्थापन समिति अन्तरगत रहने दरवन्दी संरचनाको पुनरावलोकन गर्न आवश्यक महशुशस गरी सोको पुनरावलोकनको लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ ।

अस्पताल व्यवस्थापन समितिको स्वीकृत दरबन्दीमा रही सेवा गरिरहेका कर्मचारीहरुको पारिश्रमिक तथा सेवा सुविधा पुनराबलोकन गरी एक महिनाभित्र राय सहितको प्रतिवेदन पेश गर्नको लागि बैठकले डाक्टर शम्भु अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ ।

त्यस्तै अस्पतालको ३ बर्षे रणनीतिक योजना तयार पार्नका लागि नर्सिङ प्रमुख प्रशन्ना तामाङको नेतृत्वमा उपसमिति गठन गर्ने पनि निर्णय गरेको छ । समितिलाई एक महिनाभित्र प्रारम्भिक मस्यौदा तयार पारी पेश गर्न निर्देशन दिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्