| आइतवार, कार्तिक २२, २०८३

चुनाबअघिमात्र चल्छ रबर उद्योग र एयरपोर्ट खुल्ने चर्चा

शिव उप्रेती ।
गण्डकी गाउँपालिका ७ का कुमार गुरुङले सामाजिक सञ्जाल ‘फेसबुक’ मा धवादीघाटको जीर्ण झोलुङ्गे पुलको तस्वीर राखेर चुनाब लक्षित स्टाटस लेखे, ‘फेरि चुनाव आयो । अब धवादीघाटको पुलको टेन्डर खुलेको कागज सामाजिक सञ्जालभरि छरपस्ट हुनेभयो । कागजको खोस्टो देखाएर हामी घ्याल्चोकेहरुको भोट कहिलेसम्म लुट्ने हो ? अब हामी चनाखो हुनुपर्छ पर्छ… ।’

उनका अनुसार २०७९ को स्थानीय तहको निर्वाचनअघि पनि सो ठाउँमा मोटरेबल पुल बनाउने भन्दै टेण्डर आव्हान गरिएको थियो । बिभिन्न पार्टीका कार्यकर्ताहरुले आफ्ना–आफ्ना नेताको पहलमा योजना परेको भन्दै सामाजिक सञ्जालमा तँछाडमछाड गरे । चुनाव सकियो तर पुल बनेन । फेरि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अघि पनि सोही पुल बनाउने अर्को टेण्डर आव्हान गरियो । यसपटक पनि विभिन्न पार्टीका कार्यकर्ताले आफ्ना नेताको पहलमा योजना परेको भन्दै जस लिने होडबाजी गरे । चुनाब सकिएको यत्तिका बर्ष बित्यो, तर पुल बनेन ।

‘त्यही आक्रोसमा मैले स्टाटस लेखेको हुँ’, उनले भने ।
अहिले पनि गोरखामा अलपत्र अबस्थामा रहेका राष्ट्रिय गौरवका योजना सञ्चालन हुनेबारे भ्रामक समाचार प्रकाशन प्रशारण हुन थालेका छन् ।
केही दिनअघि एकाएक समाचार आयो, ‘बूढीगण्डकी आयोजनाको मोडालिटी सरकारद्वारा स्वीकृत’ । केही दिनपछि फेरि अर्को समाचार आयो, ‘बेनिघाट आरुघाट लार्के सडकका लागि बजेट थप हुने’ । यत्तिले पुगेन फेरि केहीदिनपछि अर्को समाचार आयो, ‘गोरखकाली रबर उद्योग पिपिपि मोडलमा बनाउन सुझाव’ ।
अब केही दिनभित्र अर्को समाचार आउनेवाला छ, ‘पालुङ्टार विमानस्थल पुनसंचालनको तयारी’ शीर्षकमा ।
आउँदो फागुन २१ गते सरकारले चुनाव घोषणा गरेको छ । उम्मेद्वार तथा नेता, कार्यकर्ता यतिबेला चुनावी प्रचारप्रसारमा घरदैलो गरिरहेका छन् । यसमै बल पु¥याउने उद्देश्यले विभिन्न पार्टी संवद्ध नेता, कार्यकर्ताले राष्ट्रिय गौरवका योजनाहरुको समाचारलाई सुनियोजित रुपमा चर्चामा ल्याउने गरेका हुन् ।
गोरखामा रहेका ठूला उद्योग, योजना तथा कार्यक्रमहरु गोरखकाली रबर उद्योग, पालुङ्टार विमानस्थल, बूढीगण्डकी जलविद्युत आयोजना तथा बेनिघाट आरुघाट लार्के सडक हुन् । ‘चुनावअघि जनतालाई इमोशनल ब्ल्याकमेलिङ गर्न यस्ता समाचार छपाइरहन्छन् । नेताले आफ्नो पहलमा अघि बढेको भन्दै मतदातासामु धुवाँदार भाषण पनि गर्दै हिँड्छन्’, गुरुङ भन्छन्, ‘अब जनता बुझ्ने भइसकेका छन् । यस्ता झुठको खेतीको पछि लाग्दैनन् । तर नेता बुझ्दैनन् र पुरानै शैलीमा ठूला आयोजना बनाउने चर्चा गरी हिँड्छन् ।’
तीन बर्षअघिको चुनावी भाषणमा तत्कालीन उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्ड तथा सबै पार्टीका नेताले बूढीगण्डकी आयोजना, गोरखकाली रबर उद्योग, पालुङ्टार एयरपोर्ट सञ्चालनलाई प्राथमिकता दिने भाषण गरे । साथै धुलोमुक्त सडक बनाउने भाषण गरेर चुनाव जितेका प्रचण्ड प्रधानमन्त्री पनि बने । अर्का नेता सुरेन्द्र पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री बने ।
तर यो तीन बर्षयता गोरखकाली रबर उद्योग पुनसंचालन भएन । बरु झन धेरै रुग्ण बन्दै गयो, झाडी र जंगलले ढाक्दै गयो । बूढीगण्डकी आयोजनाको काम पनि अघि बढ्नु त परको कुरा, बरु आयोजना पनि नबन्ने, विकास निर्माणको काम पनि ठप्प भएर स्थानीयबासी हैरान भए । बेनिघाट आरुघाट लार्के सडकको बजेट थपिनु त कताकता, बिगत तीनबर्ष यता बर्सेनि बजेट घटेर आइरहेको छ । अनि पालुङ्टार विमानस्थलमा चर्ने बस्तुभाउको संख्या पनि बढिरह्यो । जग्गा अधिग्रहणको समस्या पनि हल भएन ।
जिम्मेवार नेताले जनता झुक्याउने यस्ता प्रवृत्ति छाडेर तथ्यगत, बस्तुगत कुरा गर्नुपर्ने गैरसरकारी संस्था महासंघका अध्यक्ष हरि देवकोटाको सुझाव छ । ‘यस्ता बकम्फुसे प्रवृत्तिलाई अब जनताले पत्याउन छाडे’, महासंघका अध्यक्ष देवकोटा भन्छन्, ‘आफ्नो र देशको क्षमता र सीमाको ख्याल नगरी ठालु बन्ने, मपाइँत्व देखाउने यो पपुलिस्ट बन्ने प्रवृत्ति हो । यस्तो प्रवृत्ति देश विकासको बाधक हो ।’ बदलिँदो परिवेशमा चुनाव प्रचार प्रसारको शैली पनि बदल्नु पर्नेमा नेताहरुले पुरानै ढर्रा प्रस्तुत गरिरहेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्