
समुदायमै असर पर्ने गरी दोहोरी साँझ संचालन, नियमक निकायले बेवास्ता गरेको आरोप
गोरखा नगरपालिका–७ स्थित बहुउदेश्यीय भवनमा संचालित गोरखा रोधी घर(दोहोरी साँझ)को कोलाहलपूर्ण वातावरणले आसपासका बासिन्दा आजित छन् । यसबारे पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमक निकायले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
आसपासका छरछिमेकमा कोकोहोलो मच्चाउने गरी ध्वनि प्रदुषण हुनेगरी मध्यरातसम्म ठूलो आवाजमा म्यूजिक बजाउने गरेको एक स्थानीयले बताए । ‘त्यहाँभित्रको आवाज बाहिर नजाने गरी साउण्ड प्रुफ हुनुपर्ने हो,’ उनले भने, ‘तर बाहिरै सुनिने गरी ठूलो आवाजमा गीत घन्किन्छ ।’
दोहोरीको होहल्लाले बालबच्चाको पढाइ समेत दुस्प्रभावित हुने गरेको उनले गुनासो गरे । भने, ‘एसईई दिने बेला भएका बच्चा छन्, त्यहाँको आवाजले पढाइमा समेत डिस्टर्व भएको छ । रातको १२ बजेसम्म होहल्ला हुँदा बुढाबुढी भएका आमाबुवा निदाउन समेत सक्नुहुन्न ।’
दोहोरी साँझबाट मदिरा सेवन गरी निस्केकाहरु अपशब्द बोल्दै होहल्ला गर्ने गरेको उनले बताए । थपे, ‘सडक–सडक मातिएर छाडा बोल्दै हिड्छन्, कहिलेकाँही झगडा पनि गर्छन्, ठुलो आवाज आउने गरी बाइकको एक्सिलेटर बटार्छन् ।’ घरमा बाहिरबाट कोही पाहुना आएका बेला आफै लज्जित समेत हुनुपरेको उनले सुनाए ।
सम्बन्धित निकायलाई यसबारे पटक पटक ध्यानाकर्षण गराएपनि बेवास्ता गरेको स्थानीयको आरोप छ । उनीहरुका अनुसार टोलबाट वडा कार्यालय, जिल्ला प्रशासन र नगरपालिकामा समेत जानकारी गराइसकेका छन् । बाहिर आवाज नजाने गरी व्यवसाय संचालन गर्न स्थानीयको आग्रह छ ।
गोरखा नगरपालिका मेयर कृष्ण रानाले छिटै बैठक बसेर त्यसको निकास दिने बताए । यसअघि पनि गुनासो आएपछि अनुगमन गरिएको बताउँदै उनले भने, ‘त्यो बेला पनि हामीले आवाज बाहिर नजाने गरी साउण्ड प्रुफ बनाउनु भनेर केही दिन बन्द पनि गरायौ, बनायो भनेपछि संचालन गर्न दिएका हौ । अहिले फेरी गुनासो आएको छ ।’ साउण्ड प्रुफ बनाए संचालन गर्न दिइने नभए हटाउने उनले जानकारी गराए ।
यता दोहोरी साँझ संचालक सचिन गुरुङले टोलसँगको छलफलपछि बाहिर डिस्टर्व हुने गरी म्यूजिक नबजाएको जिकिर गरे । ‘आवाजबाहिर जाने प्वालहरु हामीले टालिसक्यौँ, फेरि डिस्टव भयो भन्नुभएको छ,’ उनले भने, ‘टोललाई डिस्टर्व गरेर दोहोरी चलाउने मेरो पनि चाहना होइन, त्यसका लागि आवश्यक छलफल गर्न म तयार छु ।’
यसअघि उक्त रोधी घर अरुले संचालन गर्दै आएका थिए । पाँच महिनाअघि मात्र गुरुङले उक्त दोहोरी साँझ आफूले संचालन गर्न थालेका हुन् । उक्त दोहोरी साँझका कारण छिपिटोल, नयाँबजार लगायतका टोलका स्थानीय प्रभावित बनेको बताइएको छ ।




